विभेद विरुद्ध बोल्न नसके मुक्ति असम्भव : बिश्वकर्मा

विभेद विरुद्ध बोल्न नसके मुक्ति असम्भव : बिश्वकर्मा

दैलेख –  नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष बसन्त बिश्वकर्माले समुदायले भोग्दै आएको जातीय विभेद विरुद्ध बोल्न नसके मुक्ति सम्भव नभएको बताउनुभएको छ । संगठनको दोश्रो जिल्ला अधिवेशनमा उद्घाटन बोल्दै उहाँले विभेद विरुद्ध बोल्ने उत्पीडित समुदायको साथमा मूलपार्टी नेकपा एकीकृत समाजवादीले साथ दिइरहेको उहाँले प्रष्ट्याउनुभयो ।

नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य एवं मुक्ति संगठनका कर्णाली प्रदेश इञ्चार्ज बिश्वकर्माले दैलेखको रतिखोलाका दलबीरसिंह कामी यस क्षेत्रका ठूलाठूला खोलाहरुमा पुल बनाएर त्यतिबेलाको नबिनतम् इञ्जिनियरिंग गर्नुभए जस्तै धेरै दलितहरुले देशको निम्ति काम गर्नुभएको तर उनीहरुको अस्तित्व नस्वीकारिएकोप्रति असन्तोष जनाउनुभयो ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बरुनाथ योगीले उपेक्षित, उत्पीडितहरुले संगठित र सशक्त आवाज उठाउन सके मात्र मुक्ति सम्भव रहने बताउनुभयो । देशको स्वाधनीनता, राष्ट्रियता, सुशासन र पद्धति माथि हमला भएको कारण जीवन संघर्ष गरी बनाएको नेकपा एमालेलाई छोड्नु परेको उहाँले टिप्पणी गर्नुभयो ।

त्यसबखत नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य मायाराम अधिकारीले नेपाली समाजमा धार्मिक सँस्कारको नाममा रहेको जातीय विभेद र असमानता हटाउन दलित मुक्ति संगठनले आन्दोलन हाक्नुपर्ने विचार राख्नुभयो । मुक्ति संगठनको आन्दोलनमा पार्टीले साथ सहयोग गर्ने बचन दिनुभयो ।

नेपाल दलित मुक्ति संगठन दैलेखका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्यद्वय हर्कबहादुर नेपाली र मनकुमारी सुनारले पनि मुक्ति संगठनले लिइरहेको लक्ष्य, उद्देश्य र समुदायको दायित्व बारे बोल्नुभएको थियो ।

अधिवेशनले गोपाल नेपालीको अध्यक्षतामा ३५ सदस्यीय नेपाल दलित मुक्ति संगठनको जिल्ला कमिटी गठन गरेको छ । संगठनको जिल्ला कमिटीको बरिष्ठ उपाध्यक्ष जंगबहादुर बिक, उपाध्यक्ष अमृता नेपाली, सचिव कलम नेपाली, उपसचिव नन्दे सार्की र कोषाध्यक्षमा मीना बिशुन्के चयन हुनुभएको छ ।

प्रतिक्रिया