रविको उम्मेदवारीविरुद्ध चार वटा उजुरी

रविको उम्मेदवारीविरुद्ध चार वटा उजुरी

चितवन – वैशाख १० गते चितवन२ मा हुने प्रतिनिधिसभा सदस्य पदको उपचुनावका लागि उम्मेदवारी दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध चार वटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मङ्गलवार ती उजुरी दर्ता भएका हुन् ।

चार मध्ये तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल सफलले इमेलमार्फत दर्ता गराउनुभएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले दावी बिरोध उजुरी दर्ता गराउनुभएको हो ।

रबिले नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् ।

आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधवार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने जानकारी दिनुभयो । सफलले दिनुभएको उजुरीको विषयमा उम्मेदवारसँग जवाफ मागेर निर्वाचन आयोगमा पठाइने उहाँले बताउनुभयो । उपचुनावका लागि यस क्षेत्रमा १२ राजनीतिक दलकासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा यस क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद गएपछि अहिले उपचुनाव हुन लागेको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ ले मतदाता रहेका छन् । उनीहरूले ४३ ठाउँका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया