च्याउखेती बाटै आत्मनिर्भर बन्दै

च्याउखेती बाटै आत्मनिर्भर बन्दै

सल्यान –  जिल्लामा एक एकल महिलाले च्याउ खेतीबाट नै राम्रो आम्दानी गर्दै आउनुभएको छ । जिल्लाको शारदा नगरपालिका–२ खलंगा निवासी डोटी बुढाले च्याउखेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको हो । विगत दश बर्षदेखी च्याउखेती गर्दै आउनुभएका उहाँले एक सिजनमा मात्रै च्याउ विक्रीबाट पचास हजार सम्म आम्दानी भैरहेको बताउनुभएको छ ।

‘च्याउखेतीबाट नै घरव्यवहार चलाउन सजिलो भएको छ’ उहाँले भन्नुभयो ‘२०६९ सालमा च्याउखेती सम्बन्धि तीन दिने तालिम लिएपछि खेतीगर्न थप सजिलो भएको हो ।’ एकल महिलालाई घर चलाउन गाह्रो भैरहेको अवस्थामा थोरै लगानी र कम परिश्रमबाट नै राम्रो आम्दानी हुनेभएपनि च्याउखेती थालेको उहाँको भनाइ छ ।

उहाँले अहिले दुई वटा टनेलमा च्याउ खेती गर्दै आउनु भएको छ । ‘च्याउ खेतीका लागि चाहिने पराल, वीउ, जनशक्ति आफुसँग भएमा अझ राम्रो आम्दानी लिन सकिन्छ’ उहाँले भन्नुभयो ‘अहिले च्याउ प्रतीकिलो रु। २ सयको दरले बिक्री भैरहेको छ, वीउ किन्नुपर्छ, आफै वीउ उत्पादन गर्न सकेमा अझै धेरै फाइदा हुन्छ ।’ आफुले उत्पादन गरेको च्याउको माग धेरै नै आउने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया