संगठनलाई चुस्त दुरुस्त राख्न समीक्षा जरूरी : सभापति रेग्मी

संगठनलाई चुस्त दुरुस्त राख्न समीक्षा  जरूरी : सभापति रेग्मी

दैलेख – नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मी पार्टी संगठनलाई चलाएमान बनाउन कार्यकर्ताहरु अनुशासिन हुनुपर्ने बताउनुभएको छ । शनिवार दैलेख सदरमुकाममा दैलेख क्षेत्र नं. १ को ‘ख’ प्रदेशको सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

सभापति रेग्मीले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न नियमित बैठक, पार्टी सक्रिय सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण लगायतका साँगठनिक गतिविधिहरु व्यवस्थित गर्ने, माथिल्लो कमिटीलाई रिर्पोटिंग गर्ने कामहरुको समीक्षा गर्न र योजना बनाउन सम्मेलन हुने गरेको प्रष्ट्याउनुभयो ।

त्यसबखत पार्टीका पूर्व जिल्ला सभापति कर्णाली प्रदेशसभा सदस्य कृष्णकुमार बीसीले बीपीको समाजवाद प्रचार गर्न जाँदा काँग्रेसका कार्यकर्ताको आचरणसंग तुलना हुने भएकोले व्यक्तिगत चालन, चलन र व्यवहारले जनताको मन जित्नुपर्ने बताउनुभयो ।

‘बीपीले प्रतिपादन गरेको राष्ट्रिय, प्रजातन्त्र र समाजवादको आदर्श अनुसार काँग्रेस हरेक कार्यकर्ताहरुको व्यवहारमा देखिनुपर्छ, तव पत्याउछन् । हामीले गर्ने व्यवहार त्यस अनुसार भएन भने प्रश्न उठ्न सक्छ ।’ उहाँले भन्नुभयो । बीसीले भन्नुभयो ‘मेरै विषयमा पनि प्रश्न उठाउनुस् हरेक कार्यकर्ता जिम्मेवार हुनैपर्छ ।’

‘काँग्रेसको स्पष्ट नीति, विचार र सिद्धान्त छ । पटकपटकका राजनीतिक परिवर्तनहरुमा नेपाली काँग्रेसले नै सधैं अगुवाइ गरेको योगदान कै विषय जनता सामु हामीले चर्चा गर्न नसकेकै कारण इच्छुक भएकाहरु पनि काँग्रेसमा संगठित गर्न सकेको छनौं’ नेपाली काँग्रेसका कर्णाली प्रदेश समितिका सदस्य निर्मला खड्काले भन्नुभयो ।

पार्टीका जिल्ला सचिव नारायण रेग्मीले चुनावी अभियान र साँठनिक कामको सिलसिलामा पार्टी हित विपरित काम गरिरहेकाहरुलाई कारवाही गर्ने र राम्रो गरिरहेकाहरुलाई प्रोत्साहित गर्ने परिपाटी नबसेको कारण राम्रो गरिरहेका कार्यकर्ताहरुको जाँगर मर्दै गरेको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका कोषाध्यक्ष सन्देश श्रेष्ठले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काम गर्ने वातावरण बनाउन पार्टी संगठनको सहयोग चाहिएको बताउदै प्रतिद्वन्द्वी दलहरुले जितेका पालिकाहरुलाई अल्पमतमा रहेको काँग्रेसका वडाध्यक्ष र सदस्यहरुलाई प्रतिद्वन्द्वी दलबाट असहयोग भइरहेको सुनाउनुभयो ।

नेपाली काँग्रेसको दैलेख क्षेत्र नं. १ को ‘ख’ प्रदेश समितिका सभापति भदे बुढा मगरको अध्यक्षतामा भएको प्रदेश समिति सम्मेलनमा पार्टीका पूर्वसहसचिव रेशम बिश्वकर्मा, हाधिवेशन प्रतिनिधिहरु भूपेन्द्र शाही, बासना थापा, कमला चन्द, जिल्ला समितिका सदस्य पदम सुनार समेतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रदेश समितिका सचिव सूर्यमान सावद, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य रमेश दशौदी, प्रदेश सदस्य बखत सापकोटा, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, नेपाल मगर संघका महेन्द्र राना, जनजाति महासंघका रामकृष्ण गुरुङ्ग, काँग्रेसका जनप्रतिनिधिहरुका तर्फबाट नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्र खड्का समेतले नेपाली काँग्रेसको राजनीतिक इतिहास र जनजीविकाको सवालमा बोल्नुभएको थियो ।

 

प्रतिक्रिया