सानीभेरीका कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन

सानीभेरीका कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन रकम प्रदान गरेको छ । कृषकले उत्पादन गरेर बिक्री गरेको परिमाणका आधारमा गाउँपालिकाका वडा नम्बर ७ र ९ का ८८ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अन्तर्गतको कृषि विकास शाखाद्वारा १३ जना तरकारी उत्पादन गर्ने कृषक र पशु शाखाद्वारा ७५ जना भैंसी र खसी बोका पालन गर्ने कृषकलाई प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले बताउनुभयो ।

वडा नम्बर ७ को वडा कार्यालयको प्राङ्गणमा भएको पशु शाखा अन्तर्गतको अनुदान हस्तान्तरण कार्यक्रममा ६१ वटा सुत्केरी भैंसी पाल्ने कृषक र १४ जना खसी बोका उत्पादन गरेका कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।

पशु पालन तर्फका कृषक वडा नम्बर ७ कि हिमा बुढाले सबै भन्दा बढी प्रोत्साहन प्राप्त गर्नुभएको छ । उहाँले ६ वटा खसी बोका बिक्री गर्नुभएको थियो । उहाँले प्रति किलो ५० का दरले जम्मा १२ हजार २ सय ५० रुपैंया रकम प्राप्त गरेको पशु शाखा प्रमुख भूपेन्द्र पुनले जानकारी दिनुभयो ।

त्यस्तै कृषि विकास शाखा अन्तर्गत ९ नम्बर वडाका १३ जना तरकारी उत्पादन गर्ने कृषकहरुलाई सानीभेरी गाउँपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरी रकम हस्तातरण गरिएको छ । तरकारी उत्पादन गरेर सबै भन्दा बढी प्रोत्साहन रकम प्राप्त गर्ने कृषक सानीभेरी ९ का टंकप्रकाश खड्का रहनुभएको छ ।

उहाँले जम्मा १६ हजार ४ सय रुपैंया प्राप्त गर्नुभएको छ । उहाँले १ हजार ६ सय ४० किलो टमाटर उत्पादन गर्नुभएको थियो । किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान दिइएको छ । वास्तविक कृषकलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले बताउनुभयो । जति धेरै उत्पादन त्यति धेरै प्रोत्साहनको नीति गाउँपालिकाले लिएको जानकारी गराउँदै उहाँले यो कार्यक्रम निरन्तर रुपमा संचालन हुने बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले वार्षिक १ हजार लिटर दुध उत्पादन गरेका कृषकलाई प्रति लिटर ५ रुपैयाँ प्रोत्साहन दिने व्यवस्था समेत गरेको उहाँले बताउनुभयो ।  अनुदान दिँदा नक्कली कृषकले बढी लाभ लिने भएकाले उत्पादनको आधारमा अनुदान दिने गाउँपालिकाले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमले कृषिमा व्यवसायिकता विकास र दीगोपना कायम हुने विश्वास गरिएको छ ।

यो कार्यक्रम गाउँपालिकाका सबै वडामा लागु भएको छ । अन्य वडाहरुमा पनि छिट्टै उत्पादनका आधारमा पैंसा वितरण गर्ने कार्यक्रम संचालन हुने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ९ मा झन्डै ८७ हजार रकम वितरण गरिएको छ भने वडा नम्बर ७ मा २ लाख ८७ हजार १ सय रुपैयाँ वितरण गरिएको छ ।

प्रतिक्रिया