ओझेलमा रुकुम पूर्वका पर्यटकीय क्षेत्र

ओझेलमा रुकुम पूर्वका पर्यटकीय क्षेत्र

रुकुम पुर्व- रुकुम पुर्व पर्यटकीय स्थलको खानी हो । यहाँका अथाह पर्यटकीय स्थलहरुले पर्यटकको स्वागत गर्न तम्तयार भएर बसेका छन् । दैनिक कामकाज गरिरहदा तथा आफ्नो योजनाको लक्ष्य पछ्याइ रहने क्रममा मान्छेले बोर भएको महशुस गर्ने गर्दछ ।

त्यस क्रममा केही दिन तथा समयको लागि आफ्नो कामलाई थाती राखेर मनोरञ्जन सहितको घुमफिर गर्न चाहान्छ । त्यसका लागि आफूलाई आनन्द मिल्ने पर्यटकीय स्थलको खोजी गर्छ । त्यस्तो आनन्द मिल्ने तथा घुमफिर गरेर शिक्षा लिने ठाउँहरू रुकुमपूर्वमा अथाह् रहेका छन् । तर, पर्यटकीय स्थलको उचित रुपमा विकास हुन नसक्दा यहाँका पर्यटकीय स्थल ओझेलमा रहेका छन् । सिस्ने गाउँपालिका-६ रुकुमकोट स्थित छिप्रिहदमा होटेल व्यवसाय गरिरहनु भएका होटेल लेक सिटीका प्रोप्राइटर सुनिलकुमार रोका मगर पर्यटकइ स्थलहरुको उचित प्रचार प्रसार नहुदा ओभेलमा परेको बताउनुहन्छ । पर्यटन क्षेत्रमा सरकारले दीर्घकालिन योजना सहित लगानी गर्नु पर्ने रोका मगरको भनाइ रहेको छ ।

“तीन तहकै सरकारले पर्यटन क्षेत्रमा लगानी गरिराखेका छन्” रोका मगरले भन्नुभयो, “तर, योजनाको लक्ष्य अनुसार निरन्तर रूपमा लगानी नहुँदा पर्यटनको विकास हुन सकेन ।” मुख्यतः पर्र्यटन मन्त्रालय र पर्यटन विभागले हिमाली जिल्लाका पर्यटन क्षेत्रको विकासमा चासो नदेखाकै कारणले यस जिल्लाका पर्यटन क्षेत्र ओझेलमा रहेको रोका मगरको गुनासो छ । पाँच हजार देखि साढे सात हजार मिटर उचाइ सम्मका आधा दर्जन बढी हिमाल छन् । बहुमूल्य जडीबुटी यार्सा गुम्बा देखि अन्य जडीबुटी पनि पाइने गरेको भूमे गाउँपालिका-३ क्याङ्सीका तिलकबहादुर रोका मगरले बताउनुभयो ।

“यसैगरी थुप्रै बुकी पाटन, हिमतालका साथै अन्य तालतलैया, सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँमा तातोपानी छन्” रोका मगरले भन्नुभयो -“जिल्लाका ठाउँठाउँमा ऐतिहासिक युद्ध स्थल, गुरिल्ला पदमार्ग, स्थानीय कला संस्कृतिमा आधारित रहनसहन, मौलिक भेषभुषा, बोलीचाली, अर्गानिक खानपान यता तर्फ पनि सरकारले ध्यानमा राखि पर्यटनमा लगानी गरे स्थानीयको आयआर्जनको स्रोत समेत बन्ने थियो ।” दुःखको कुरा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उहाँको भनाइ रहेको छ ।

“पर्यटनको क्षेत्रमा रुकुमपूर्व धनी रहेको छ” जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले भन्नुभयो -“यी क्षेत्रका विकासका लागि एकीकृत योजना हुनु पर्ने आवश्यक रहेको छ ।” पर्यटन विकासका लागि जिल्ला स्थित स्थानीय सरकारले खाका बनाइ राखेको अवस्था छ भने त्यसमा प्रदेश र सङ्घ सरकारले विशेष ध्यानका साथ लगानी गर्नु पर्ने जिसस प्रमुख श्रेष्ठको भनाइ रहेको छ । जिससको तर्फबाट स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकार समक्ष जिल्लाको पर्यटन विकास लागि योजना र लगानी गर्नमा आग्रह गरिराखेको श्रेष्ठले जानकारी दिनुभयो ।-कखरा

प्रतिक्रिया