तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै किसान

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै किसान

सल्यान – देशका युवाहरू बिदेसिने क्रम बढी रहेको समयमा सल्यानका केही युवाहरू भने मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । किसानहरूले तरकारी खेती मार्फत वैदेशिक रोजगारीबाट हुने भन्दा धेरै आम्दानी गरी उदाहरणीय कार्य समेत गर्दै आइरहेका छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले परिवारको खर्च चल्नु साथै आत्मनिर्भर बनाउन सफल भएको शारदा नरपालिका ६ बरलाका कृष्ण बस्नेतले बताउनुभयो । आफ्नो १० र लिजमा ५ गरी १५ रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आउनु भएका बस्नेतले सबै खर्च कटाएर वार्षिक ५ देखि ६ लाख आम्दानी हुँदै आइरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘मौसमी तरकारी भन्दा बेमौसमी तरकारीको बजार माग धेरै हुने गर्छ । त्यस कारण बाह्रै महिना तरकारी खेती गर्ने गरेता पनि बेमौसमी तरकारीलाई बढी जोड दिने गर्छौँ ।’

प्रतिवर्ष १५ हजार भाडा दिने गरी ५ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आइरहेको उहाँको भनाई छ । गाउँका एकाधले मात्र खेती गर्दा बजारीकरणमा समस्या हुने बताउँदै धेरैले थोरै थोरै मात्र उत्पादन गरे पनि बजारीकरणमा समस्या नहुने उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘धेरै किसानले आफूले उत्पादन गरेको वस्तु नै बिक्री भएन भन्नु हुन्छ । ३०÷४० किलो मात्र खरिद गर्न त को व्यापारी आउँछ र धेरैले फरक फरक तरकारी उत्पादन गर्न सके बजारीकरणको खासै समस्या म त देख्दिन ।’

यस्तै त्रिवेणी गाउँपालिका २ काभ्राका ४२ वर्षीय कर्ण बहादुर थापाले तरकारी खेतीबाट वार्षिक ७ लाख बढी आम्दानी गर्दै आउनु भएको छ । प्रत्येक वर्ष खाद्यन्नबाली उत्पादनमा गिरावट आउन थालेका कारण घरपरिवारको गुजारा चलाउन कठिनाइ भएपछि अन्नबाली त्यागेर तरकारी खेतीमा लागेको थापाको भनाई छ । ६ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनु भएका थापाले चार जनाको परिवार पाल्न मात्र होइन एउटा छोरालाई फार्मेसी समेत पढाई रहनु भएको छ ।

त्रिवेणी गाउँपालिका ४ फलाबाङ्गका ५० वर्षीय चेतबहादुर रावतले पनि खाद्य बालीबाट जीविकोपार्जनमा कठिनाइ भएकै कारण अरूको सिको गर्दै १० रोपनी जग्गामा विभिन्न जातका तरकारी खेती गर्दै आउनु भएको छ । तरकारीबाट उहाँले अहिले वार्षिक ८ लाख आम्दानी गर्दै आउनु भएको छ । तरकारीबाट आम्दानी भएको रकमले सात जनाको परिवार पालेर बचत भएको रकम अन्यत्र सदुपयोग गर्दै आइरहेको रावतको भनाई छ । उहाँले भन्नुभयो ‘बजारमा के को मा बढी छ त्यस अनुसार तरकारी खेती गर्ने हो भने बिक्री भएन भनेर बस्नु पर्ने अवस्था नआउने रहेछ ।’

तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिने योजना बनाएको उहाँको भनाई छ । उहाँले भन्नु भयो यसका लागि उपयुक्त जग्गाको खोजीमा छु ।
भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उहाँको सुझाव छ । यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउ बिजन, विषादी, मल खादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया