किसानलाई गहुँ भित्र्याउन चटारो

किसानलाई गहुँ भित्र्याउन चटारो

जाजरकोट –   जाजरकोटका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो । खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन् ।

भेरी नगरपालिका –३ स्यालाका कृषक हरी बुढाथोकीको दैनिकी यतिवेला खेतवारीमै वितिरहेको छ । खेतमा गहुँ बाली पाकेर बिग्रिने अवस्थामा पुगेकाले बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिजोआज घरको सबै काम छाडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ।”

केही दिनदेखि गर्मी बढ्दै गएको र वर्षा हुनसक्ने भन्दै गहुँ बाली भित्र्याउनका लागि यस क्षेत्रका किसानको अधिकांश समय खेतबारीमै बित्ने गरेको छ । किसानका परिवारका सबै सदस्य प्रायःजसो खेतबारीमै भेटिने गर्छन्। जाजरकोटका सातवटै स्थानीय तहका किसानहरु यतिवेला खेतवारीमा भेटिने गरेका छन् । पानी पर्ने डरले समेत किसानहरु गहुँ भित्र्याउँदै चटारोमा छन् ।

 

प्रतिक्रिया