रेमिट्यान्स आप्रबाहमा सुधार, शोधनान्तर पनि बचतमा, मुद्रास्फीति घट्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म लगातार घाटामा रहेको चालु खाता बचतमा फर्केको र शोधनान्तर स्थिति बचतमा रहेकोले २०७४ मा मुलुकको समग्र आर्थिक स्थिति सुदृढ रहने आँकलन गरेको छ । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्मको विवरण सार्वजनिक गर्दे राष्ट्र बैंकले मुद्रास्फिर्ति कमी आएको र विप्रेषण आप्रबाहमा सुधार आएको जनाएको छ ।
राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै अघिल्ला तीन महिनाहरुमा लगातार घाटामा रहेको चालु खाता २०७३ कात्तिकमा १ अर्ब ८६ करोडले बचतमा फर्केको जनाएको छ ।
त्यसैगरी, अघिल्लो वर्षको चार महिनासम्ममा ८३ अर्ब ७० करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २१ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
२०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७३ असोज महिनामा ६.७ प्रतिशत रहेकोमा २०७३ कात्तिक महिनामा ४.८ प्रतिशतमा ओर्लेको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति १.९ प्रतिशतले झरेको हो ।
यस्तो मुद्रास्फीति २०७३ असार महिना र २०७२ र कात्तिक महिना दुबैमा १०.४ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति दुबैमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको राष्ट्र बैंकको भनाई छ ।
त्यस्तै समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भई २ खर्ब ३२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.४ प्रतिशतले वृद्धि भएको थियो । तर विप्रेषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको छ ।
२०७४ मा मुलुकको समग्र आर्थिक स्थिति सुदृढ रहने कारण
भूकम्प पछिको पुनर्निर्माण अन्तर्गत आवसीय घर निर्माणको लागि दिइएको अनुदान, उर्जा आपूर्तिमा भएकोसुधार र कृषि, उद्योग तथा पर्यटन क्षेत्रमा देखिएको सुधारबाट आर्थिक वर्ष २०७४ मा समग्र आर्थिक स्थिति सुदृढ रहने अपेक्षा राष्ट्र बैंकले गरको छ । बर्षे बालीको उत्पादन उत्साहप्रद रहेकोले कृषि क्षेत्र अपेक्षा गरिए भन्दा सुदृढ हुने आँकलन पनि राष्ट्र बैंकको छ ।
विकास आयोजनाहरुको सफल कार्यान्वयन, सरकारको नेपाल राष्ट्र बैंकसँग रहेको नगद मौज्दातको उपयोग र वाह्य क्षेत्रको अवस्थामा मुलुकको आर्थिक वृद्धिको परिदृष्य निर्भर रहने छ । हालसालै भारत सरकारले उच्च दरका भारतीय बैंक नोटको अमौद्रिकरण गरेबाट पर्यटन तथा कृषिजन्य बस्तुहरुको निर्यातमा तत्कालिन असर पर्ने देखिन्छ ।
मुद्रास्फीतिमा आएको क्रमिक सुधारले सर्वसाधारणलाई राहत पुग्ने तथा औद्योगिक उत्पादन तथा व्यवसायका लागि सकारात्मक वातावरण वन्ने अपेक्षा गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म लगातार घाटामा रहेको चालु खाता बचतमा फर्केको र शोधनान्तर स्थिति बचतमा रहेकोले मुलुकको वाह्य क्षेत्र स्थिति सुदृढ भएको छ ।
मेराेलगानीवाट साभार गरिएकाे हाे
प्रतिक्रिया