महिलाले विवाहदर्ता र बालबालिकाको जन्मदर्ता पाउन मुश्किल !

महिलाले विवाहदर्ता र बालबालिकाको जन्मदर्ता पाउन मुश्किल !

दैलेख – सानैमा विवाह गरेको कारण त्यसबेला विवाहदर्ता नहुने अनि तिनै बालविवाह गरेका जोडीहरुले जन्माएका बालबालिकाहरुको जन्मदर्ता नपाउने समस्या विकराल बन्दै गएको छ । बालविवाह रोक्न समुदाय र स्थानीय सरकारले प्रभावकारी काम नगरेको कारण यो समस्या जटिल बन्दै आएको छ ।

बालविवाहले पढाई छुट्ने गरेको कारण शैक्षिक प्रगति रोकिने गरेको, शिक्षा र चेतनामा पनि कमजोर हुने भएकोले रोजगारी अवसरहरु नहुने भएकोले गरिबी अनि उमेर नपुेगी जन्मेका शिशु र आमाको स्वास्थ्य समेत कमजोर हुने भएकोले पारिवारिक कलह बढ्दै उमेर पुगेको बेला विवाहदर्ता बनाउन नमान्ने र कतिपय बालबालिकाको जन्मदर्ता समेत पाएका छैनन् ।


घटना – १
नारायण नगरपालिका–३ कालिमाटीकी लक्ष्मी भण्डारी २२ वर्षकी हुनुभयो । १६ वर्षकी छँदा २०७५ पुस २८ गते तिलक नाथसंग प्रेम विवाह भयो, एक वर्षमा २०७६ मंसिर १७ गते छोरा गौरबको जन्म भयो । विवाह हुँदा उमेर नपुगेको कारण लक्ष्मीको विवाह दर्ता भएन, छोराको जन्मदर्ता पनि भएको छैन ।

ऊ बेला उमेर नपुगेर रोकियो, अहिले श्रीमान् बनाउदिन भन्छन् । लक्ष्मीको विवाहदर्ता नहुँदा नागरिकता बनेको छैन, उहाँ माइतीघर दुल्लू नगरपालिका–११ कालभैरबबाट नागरिकता बनाउन खोज्दा विवाहितालाई दिन्नौं भनेर सिफारिस दिएनन् ।

लक्ष्मी अहिले नागरिकता विहीन हुनुहुन्छ, छोराको जन्मदर्ता नपाउँदा बालपोषण भत्ता पनि पाउनुभएको छैन । सरकारले वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको व्यक्तिगत घटनादर्ता अभियानको समयमा लक्ष्मीले वडामा जानुभयो, वडासचिव बिष्णु शर्माले तिलककै छोरा हो भनेर डीएनए रिपोर्ट ल्याऊ भन्ने प्रतिक्रिया दिनुभयो ।

लक्ष्मीका श्रीमान् तिलक दुईतीन वर्षदेखि भारतमा लुकेर बस्नुभएको छ, फोन सम्पर्क वा खर्च पठाउने केहीकेही छैन । ‘विवाहदर्ता दिन्न, ऊ पोइल गई भने मात्र आउँछु । छोरा मेरै हो घरमा छोड्दे हुन्छ तर आफू जहाँ जाने हो गए भो’ भनेर अरुहरु मार्फत सन्देश मात्र छोडनुभएको छ ।

लक्ष्मीकी सासु तुलसा नाथलाई नाति गौरबको जन्मदर्ता बनाउन सूचक बस्न अनुरोध गर्दा उहाँले भन्नुभयो ‘तिमीले जन्मदर्ता गराए घर नबस्नु भनेको छ, म जन्मदर्ता बनाउन सक्दिन ।’ सूचक बस्न मिल्नेको भनाई त्यस्तो छ, वडासचिव डीएनए रिपार्ट माग्न थालेपछि छोराको जन्मदर्ता र आफ्नो विवाहदर्ता अनि नागरिकता पाउनेमा लक्ष्मीले आशा मरिसकेको छ ।

घटना – २
डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका रञ्जीत सुनार (३६)संग डिलकुमारी सुनार (३५) वीच विवाह भएको १९ वर्ष भयो डिलकुमारीको नागरिकता बनेको छैन । २०६१ वैशाख १५ गते प्रेमविवाह भयो । २०६५ असार १३ छोरी चरिता र २०६६ मंसिर १० गते छोरा बिष्णुको जन्मभयो ।

विवाह हुँदा १६–१७ वर्ष मात्र भएको कारण विवाहदर्ता भएन, उमेर २० वर्ष पुगेपछि विवाहदर्ता गराउन अनुरोध गर्दा रञ्जीतले आनाकानी गरेको कारण विवाह भएको १९ वर्षसम्म डिलकुमारीले नागरिकता पाउनबाट बञ्चित हुनुभएको छ । दुल्लू नगरपालिका ११ नं. वडाले विवाहितालाई माइती वडाले नागरिकता नदिने भनेको छ ।

विवाहदर्ता मागेकी डिलकुमारी विरुद्ध रञ्जीतले गएको माघ २९ गते सम्वन्ध विच्छेद मुद्दा दिनुभयो । सम्वन्ध विच्छेद मुद्दामा तारेखमा आइरहन खर्च र समयका हिसाव वारेस राख्नखोज्नुभयो तर नागरिकता नभएको कारण अदातलमा अर्को व्यक्तिलाई मुद्दाको तारेखमा वारेसनामा लेखाउन पाउनुभएन ।

सम्वन्ध विच्छेद मुद्दा दिइसकेको कारण अब नागरिकता दिन पर्दैन भन्ने अडानमा रञ्जीत हुनुहुन्छ । डिलकुमारीले जिल्ला प्रशासन कार्यालय दैलेखमा नागरिकता दिलाउन पहल गरिदिन दिएको निवेदनमा रञ्जीतलाई झिकाउन प्रहरीलाई अह्राइए अनुसार प्रहरीले गरेको खबर गरेपछि सम्वन्ध विच्छेद प्रक्रियामा गएकोले आफू नागरिकता दिन नपर्ने भनी आलटाल गरेको प्रहरीको भनाई छ ।

घटना – ३
कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माइती भएकी पदमा बडुवाल (२१) र दैलेखको ठाँटीकाँध गाउँपालिका–४ जगनाथका जयबहादुर रावल (२८) वीच विवाह भएको ६ वर्ष भयो । विवाह हुँदा केटा २० वर्ष नाघेकै भएपनि पदमाको उमेर १५ वर्ष मात्र भएको कारण कानून जनाउदै विवाहदर्ता भएन ।

विवाह भएको चार वर्षमा छोरी जमुनाको २०७८ वैशाख १० गते जन्मभयो । विवाहदर्ता नागरिकता पाउन पदमाको पनि उस्तै समस्या छ । ‘पहिले उमेर पुगेन, अहिले श्रीमानको बेवास्ताले नागरिकता पाउन समस्या छ’ पदमाले भन्नुभयो ।

घटना – ४
दुल्लू नगरपालिका–४ नेपागाउँ माइती भएकी दुर्गा सुनार (३१) र दुल्लू नगरपालिका–५ रिजुपोखराका मदन सुनार (३२) बीच विवाह भएको १२ वर्षभयो । विवाहको पछिल्लो वर्ष २०६८ फागुन २४ गते छोरी सम्झनाको जन्मभयो, छोरी पनि ११ वर्ष भइसक्नुभयो ।

‘विवाह हुँदा एक वर्षले पुगेन विवाहदर्ता कानूनले गर्न मिलेन, अहिले पारिवारिक बेमेलको कारण श्रीमानले विवाहदर्ता गराइदिनुहुन्न, मैंले नागरिकता नपाउने भएँ’ दुर्गाले सुनाउनुभयो । वडा कार्यालय, नगरपालिकाको न्यायिक समिति, प्रहरी सबैतिर पहल गर्दा पनि दुर्गाको नागरिकता बन्न सकेको छैन ।

‘छलफलमा बनाइदिन्छु भन्नुहुन्छ, घर फर्र्किएपछि मेरो विरुद्ध उजुरी गरिस् बनाउँदिन भन्नुहुन्छ । विवाहदर्ता नहुँदा नागरिक बनेन, नागरिकता नहुँदा कुनै समूह वा सहकारी बस्न, बैंकमा खाता खोल्न वा वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन समेत पाएको छैन । नागरिकता नहुँदा धेरै सेवा सुविधाबाट बञ्चित हुँदा रैछ’ रुँदै भन्नुभयो ।

यी चार वटा प्रतिनिधि घटना मात्र हुन् । सानै उमेरमा विवाह गर्ने, बच्चा जन्माइहाल्ने अनि न बच्चाको जन्मदर्ता न त आमाको विवाहदर्ता हुने सयौंको संख्यामा विवाहिता महिलाहरुले प्रशासनिक झमेला व्यहोरिरहेका छन् । सोसेक नेपालको बाल हेल्पलाइन १०९८ का संयोजक रमा श्रेष्ठको विचारमा ‘यो सबै बालविवाहले उब्जाएको समस्या हो ।’

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले भन्नुभयो ‘विवाहवारी, बीस वर्ष पारी’ नारालाई स्थानीय सरकार र समाज सचेत वर्गले कार्यान्वयन गरी दिए धेरै हदसम्म बाहविवाह रोकिन्छ । बालविवाह रोकिए महिलाले विवाहदर्ताकै लागि रोइकराई गर्नैपर्दैन, २० वर्ष पुगेर मात्र विवाह गर्ने अनि तत्काल विवाहदर्ता गराइहाल्ने । मुख्य समाधान सुत्र नै यही हो ।’

विवाहदर्ता नपाएको कुरा स्थानीय सरकारले पहल नगरिएको कारण धेरै समस्या प्रहरीमा आउँछन् । जिल्ला प्रहरी कार्यालयमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्रमा दिनहुजसो समस्या आइरहन्छन् ।


‘छलफलबाट समाधान निकालेको पछि छौं, तर केहीले चाहिं श्रीमतिको विवाहदर्ता वा बच्चा जन्मदर्ता बनाई दिन्छु भनेर जाने तर नबनाएका पनि छन् । पीडित निरन्तर फ्लोअप गरे पुनः छलफल गराउन सकिन्छ’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्रका इञ्चार्ज असई सुशीला भूलालले भन्नुभयो ।

प्रहरीमा यस्ता सामाजिक सवालमा छलफलबाट समाधान निकाल्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्रमा कार्यरत यूएनओपीएसका सामाजिक कार्यकर्ता गीता रम्तेलले भन्नुभयो ‘आफैले जन्माएका बालबालिकाको जन्मदर्ता र विवाह गरेकी श्रीमतिलाई विवाहदर्ता नगराउनेहरुको संख्या सानो छ तर यो जटिल समस्या हो ।’

बालविवाहको उपज उमेर नपुगी भएका विवाहहरुको विवाहदर्ता र उनीहरुबाट जन्मेको बालबालिकाहरुको जन्मदर्ता समस्या बनेको छ । बालविवाह गर्नेहरु धेरैजसो पढाई कमजोर भएका सरकारी विद्यालयका बालबालिकाहरु रहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष भरतराज अधिकारीको टिप्पणी छ ‘विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सके बालविवाह आफै रोकिन्छ ।’

उहाँले भन्नुभयो ‘बालबालिकालाई आत्मनिर्भर र भविष्यको चिन्ता गर्नसक्ने गुणस्तरीय शिक्षा दिन सके बालविवाह रोक्ने, विवाहदर्ता गराउने ससाना कुरामा अल्झिन पर्दैन । उनीहरु आफू कसरी सफल बन्ने, देश विकासमा कसरी योगदान गर्ने भन्नेमा चिन्ता गर्नसक्छन् ।’

प्रतिक्रिया