कृषकलाई व्यावसायिक बनाउन कृषि औजार र मौरी घार वितरण

कृषकलाई व्यावसायिक बनाउन कृषि औजार र मौरी घार वितरण

सल्यान-   सल्यानको शारदा नगरपालिकाले व्यावसायिक किसानलाई कृषि औजार र मौरी घार वितरण गरेको छ । किसानको उत्पादन लागत घटाउन तथा कृषिलाई यान्त्रीकरण र प्रविधियुक्त बनाउन कृषि औजार र माहुरी घार वितरण गरिएको हो ।

कृषकको मागका आधारमा वडाको सिफारिस र व्यावसायिक कृषि पेसामा लागेका कृषकलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते टेक्याटर १२ , माहुरी घार ५७ र ७५ प्रतिशत अनुदानमा५६ वटा स्प्रे ट्याङ्की वितरण गरिएको शारदा नगरपालिकाले जनाएको छ । अनुदानमा प्राप्त गरेका औजारको सही सदुपयोग गर्दै आम्दानीलाई बढाउन र आत्मनिर्भर तर्फ अग्रसर हुन शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले आग्रह गर्नुभयो ।

कृषि पेसालाई आधुनिक र प्रविधियुक्त बनाएर थोरै लागतमा उत्पादन बढाउन र तथा आम्दानी गर्न कृषकको मागका आधारमा सामाग्री वितरण गरिएको उहाँको भनाई छ । यान्त्रिक उपकरण किसानको खेतबारीमा नपुगेसम्म वैज्ञानिक ढङ्गले कृषि क्षेत्रको विकास सम्भव हुन नसक्ने उहाँको भनाई छ । पालिका भित्रका व्यावसायिक कृषकलाई कृषि क्षेत्रमा प्रयोग हुने उपकरण प्रदान गर्न नगरपालिका सधैँ लागि पर्ने समेत दाबी गर्नुभयो ।

कृषि पेसालाई प्रविधिमैत्री बनाउँदा कम समयमा बढी उत्पादन गर्न उत्पादन बढेपछि आर्थिक उपार्जनमा सहयोग पुग्ने उप मेयर सुस्मिता सापकोटा सुनारले बताउनुभयो । कृषि औजारले काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिएको उहाँको भनाई छ ।

गाउँमा काम गर्न सक्ने जनशक्ति बिदेसिएर काम गर्ने मान्छे नभएपछि खेती कम हुँदै जान थालेको छ । गोरु पाल्न छाडेको र काम गर्न सक्ने युवा अहिले प्रायः गाउँमा नभएका कारण खेती गर्न नसकेर जमिन बाँझो राख्न थालको छ ।

प्रतिक्रिया