सुरक्षित गर्भगपतनको आवश्यकता, जथाभावि औषधीको प्रायोगले जोखिममा महिला

सुरक्षित गर्भगपतनको आवश्यकता, जथाभावि औषधीको प्रायोगले जोखिममा महिला

दैलेख –  (परिर्वतित) नाम  दैलेखकि २७ वर्षिया गमता १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन । गर्भपतनका लागि औषधिहरु पाइन्छ भन्ने कुरा सुनेकी नम्रताले आफूले पनि औषधी सेवन गरेर नै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् ।

उनका श्रीमानले उनलाई चिनेको एक औषधि पसलबाट गर्भपतनका लागि केही औषधी ल्याइदिए । उनले सो औषधी तोकिएको विधी अनुरुप नै सेवन गरिन् ।

औषधी सेवन गरेको केही घण्टापछि औषधी पसलेले भनेजस्तै रक्तश्राव हुन थाल्यो । आफ्नो गर्भपतन भयोे भनेर ढुक्क थिइन् उनी । तर, दुर्भाग्य १ लामो समयसम्म पनि रक्तश्राव रोकिएन । उनलाई कमजोरी महसुस भयो । रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित हुन थालिन् । श्रीमान लगायत घरका सबै आत्तिए । हतार-हतार उनलाई अस्पताल पुर्याइयो ।
चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनु पर्ने तथा गर्भ राम्ररी सफा भइनसकेकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए । चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेको भए ज्यानै गुमाउनु पर्ने हुन्थ्यो ।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वर्ष १९ परिर्वतित नाम पानकलीले बिहे गरेको पाँच महिना मात्र भएको थियो । बच्चा जन्माउने इच्छा नहुदा नहुदै अचानक उनी गर्भवती भइन् । गमताले जस्तै उनले पनि गर्भपतन गर्ने निधो गरिन् । तर,उनका घरबाट अस्पताल पुग्न दुइघण्टा हिडेर पुग्नुपर्ने थियो । नजिकै भरपर्दो बजार र मेडिकल पनि थिएन । दुइघण्टा हिडेर एउटा मेडिकल भेटाए । साँझ घर पुगे । र मेडिकलवालाले भनेजस्तै औषधी सेवन गरिन् ।

औषधी सेवन गरेको केही घण्टामा नै रक्तश्र्राव हुन थाल्यो । अत्यधिक रक्तश्र्राव हुन थालेपछि आतिन डराउन थालिन् । उनलाई पनि हतार हतार गर्दै अस्पताल पुर्याइयो । तुरुन्त रगत दिनु पर्ने कुरा चिकित्सकले सुझाए । तीन प्याकेट ब्लड दिएपछि बल्ल तल्ल ज्यान बच्न सफल भयो ।

गर्भपतनसम्बन्धि ग्रामिण ठाउँहरुका सरकारी अस्पतालमा निशुल्क औषधी पाउने भएता पनि अरुले थाहा पाउने, श्रम मान्ने सरकारी स्वास्थ्य संस्थामा विश्वास नगर्नाले मेडिकलमै धाउने गरेको पानकालीका श्रीमान बताउँछन् । सरकारी स्वास्थ्य संस्थामा जान लाज श्रम मान्ने हुन्छ,’उहाँले भन्नुभयोे, ‘ सरकारी स्वास्थ्य संस्थामा जान नमान्ने र मेडिकलमा विश्वास गर्ने भएकाले पनि मेडिकलमै गएका थियौँ । तर, पछि परिणाम नराम्रो आयो ।’

बाहिर औषधी सेवन गर्दा उपचार गर्दा पनि अहिले पनि विभिन्न समस्या ढाड दुख्ने, पाठेघर दुख्ने लगायतका समस्या रहेको उनी बताउँछन् । पहिले यस्ता समस्या कमै मात्र हुन्थे,’उहाँले भन्नुभयो, ‘गर्भपतन गर्नका लागि बाहिरको औषधी सेवनपश्चात् विभिन्न समस्या भोग्दै आएकी छु ।’ यि एक प्रतिनिधि घटना मात्र हुन् । गर्भपतनका लागि उपलब्ध औषधी सेवन गरेर त्यसका जोखिम झेल्नेहरु यहाँ हजारौं छन् । उनीहरुमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् । सहज स्वास्थ्यको पहुँच नहुनु, विभिन्न बाध्यता र यो सम्बन्धि शिक्षा नभएका कारण कर्णालीका गर्भवतिले यस्तै समस्या भोग्दै आएका छन् । प्रदेश अस्पताल सुर्खेतले दिएको तथ्यांक अनुसार २०७८/०७९ मा तीनसय जना गर्भवतिले गर्भपतन गर्न बाहिरको औषधी सेवन गरेर प्रदेश अस्पताल सुर्खेतमा उपचार गरेर फर्केको तथ्यांक उल्लेख छ ।
त्यस्तै २०७९/८० हालसम्म २४३ जना रहेको प्रदेश अस्पताल सुर्खेतले दिएको तथ्यांकमा उल्लेख छ ।

असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमि

गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न वाध्यता हुने गरेको चिकित्सकहरुको भनाई छ । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन । गर्भपतन गराउने केही विधि प्रचलित छन । ति सुरक्षित विधि हुन । अहिले औषधी सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउछन् ।

असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमि भएको कर्णाली केयर हस्पिटलमा कार्यरत डा. सजिप्ता पन्त बताउनुहुन्छ । गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुने गर्छ तर, त्यस्मा पनि शिक्षाको कमि हो । यदि शिक्षाको कमि नभए उस्ले गर्भनिरोधकका उपाए अपनाउछ ।’

कसैको बच्चा सानो भएको, कसैको सन्तानको रहर पुगिसकेको त कसैको छोराछोरी हुर्किसकेर ठूला भइसकेको, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणहरुले गर्दा गर्भपतन गराउनु पर्ने हुनसक्ने चिकितसकहरु बताउँछन् ।

सुरक्षित गर्भपतन सेवा अन्र्तगत गर्न नेपालको कानुनले नै १२ हप्ता सम्मको गर्भपतन गर्न भनेको छ तर, अहिले १५ भन्दा माथिको पनि औषधीको सेवन गरेर गर्भपतन गर्ने गरेको पाइन्छ । गर्भपतन गर्नका लागि नेपाल सरकारमा सुचिकृत भएका संस्थाबाट गर्भपतन गर्दा निशुल्क सेवा लिन सकिन्छ । तर,कही सरकारी संस्थाको विश्वास नभएका कारण त ग्रामिण भेगहरुमा गर्भपतनसम्ब्न्धि निशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण औषधी पसलहरुमा गएर गर्भपतन गर्ने एउटा ट्याबलेटको ६ सय देखि २ हजारसम्म पैसा तिर्ने गरेको गर्भपतन गर्नेहरु बताउँछन् । गर्भपतन गर्नका लागि निशुल्क सेवा छ तर, सुचिकृत नभएका बाहिरका औषधी पसलहरुले अवैध रुपमा गर्भपतन गर्ने औषधीको ६ सय देखि दुइहजारसम्म लिने सुन्ने गरेको डा. पन्तको भनाई छ ।

कानुनी मापदण्ड के छ ?

गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका

संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । राम्रो कुरा के छ भने, यस्ता सूचीकृत संस्थामा तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांक छ ।

औषधी पसलेहरु तथा सम्बन्धित स्वास्थ्यकर्मीहरु बाहेकले यस्ता औषधीहरु बिक्री वितरण गर्न नपाउने नियम छ । तर केही औषधी पसले तथा अनाधिकृत वा अयोग्य स्वास्थ्यकर्मीहरुले क्षणिक आर्थिक मुनाफाका लागि भारतीय बजारबाट ल्याएका कमसल वा औषधीहरु बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

निशुल्क रुपमा पाइने औषधीलाई मान्छे अनुसार औषधी पसलेहरुले ठग्ने गरेको डाक्टर पन्तको भनाई छ । औषधीद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपूर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सही मापन । मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे(अल्ट्रासाउण्ड) गर्नुपर्ने मान्यता छ । मेडिकल एबोर्सनका लागि अर्को महत्वपूर्ण पक्ष हो, गर्भपतन पुर्णरुपले भयो वा भएन भनेर परीक्षण गर्नु । मेडिकलमा मान्छेको ज्यान देखेका भरमा औषधी दिइने गरेको पाइन्छ ।

गर्भपतन सेवा लिनका लागि नेपाल सरकारले सुुचिकृत नगरेको ठाउँमा गर्भपतन सेवा लिनुभनेको अवैध र असुरक्षित गर्भपतन भएको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ मेडिकल सुपरिटेन्डेण्ट डा पवन कुमार शाह बताउनुहुन्छ । कुनै संस्था छ सुचिकृत पनि छ तर, त्यहाँको म्यानपावर तालिम लिनुभएको छैन र सुचिकृत भएको छैन भने त्यो ठाउँमा गर्भपतन गर्नुभनेको पनि असुरक्षित गर्भपतन हो उहाँले भन्नुभयो ।

सुरक्षित गर्भपतनसम्बन्धि कानुनले नै १२ हप्तासम्मको गर्भपन तगर्न मिल्ने भनेको छ । सुरक्षित गर्भपतन गर्नका लागि सचिकृत संस्थाहरुमा निशुल्क र सुरक्षित गर्भपतनसम्बन्धि धेरैलाई जानकारी नभएको डाक्टर पन्तको भनाई छ । धेरैजनालाई कहाँ जाने के गर्ने भन्ने झन्झटिलो लाग्छ,’उनले भनिन्, ‘धेरैजसो परिवारले थाहा नपाओस भने लुकेर गर्भपतन गर्ने हुन्छ । वा अविवाहितहरुले त्यहाँ गयो भने सबैले थाहा पाउछन् भनेर पनि गर्दैनन् । जसकारण लुकिछिपि औषधी पसलहरुमा गएर औषधी लिएर प्रायोग गर्छन । मेडिकल व्यवसायिले त्यस्को फाइदा उठाइरहेका छन् ।

गर्भवतिले गर्भपतन गर्नका लागि जति भने पनि दिनुपर्ने बाध्यता हुन्छ । गर्भपतन गर्न निशुल्क बितरण गर्ने औषधीलाई ६ सय देखि दुइहजारसम्म पनि बेचिरहेका छन् । अर्को कुरा औषधी पसलेलाई औषधी ख्वाउने तरिकानै जानकारी हुदैन । कति समयमा खाने हो कति डोज खाने हो उनीहरुलाई जानकारी नै हुँदैन । अर्को कुरा औषधी पसलेलाई कति हप्ताको बच्चा छ भनेर पनि थाहा हुँदैन । जस्ले गर्दा विभिन्न समस्या निम्तिने गर्छन । औषधीको डोज धेरै भए अत्यधिक रक्तश्र्राव हुने, पाठेघर नै फुट्ने, पुरै गर्भपतन हुन नसक्ने, साल अड्केर आउने समस्या हुन सक्छन् ।’

त्यस्तै परिवार नियोजनको बारेमा धेरैलाई जानकारी नहुनुले पनि असुरक्षित गर्भपतनका घटना बढ्दै गएको पन्तको भनाई छ । ‘गर्भ बस्न भन्दा पहिले पनि रोकथाम गर्न सक्छौँ त्यो जानकारी छैन । अर्को बच्चा बसे पनि १२ हप्तासम्म नेपाल सरकारको कानुनमा महिलाकोे इच्छाअनुसार गर्भपतन गर्न मिल्ने व्यवस्था छ’ उनले भनिन् ।

 

प्रतिक्रिया