किसानलाई ८५ प्रतिशत अनुदानमा फलफूलका विरुवा दिइने

किसानलाई ८५ प्रतिशत अनुदानमा फलफूलका विरुवा दिइने

रुकुमपश्चिम-   कृषि विकास कार्यालय रुकुम पश्चिमले ८५ प्रतिशत अनुदानमा किसानलाई वर्षे फलफूलका बिरुवा वितरण गर्ने भएको छ ।

कृषि विकास कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानलाई बर्षे फलफुलको बिरुवा वितरण गर्न लागेको हो । चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा आँप र लिचिका विरुवा वितरण हुने छन् ।

मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा सुन्तला, कागती र एभोकाडाको बिरुवा वितरण हुने कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार आठबीसकोट नगरपालिकाले भने आँफै वर्षे फलफूलका विरुवा वितरणको लागि बजेट विनियोजन गरेको छ । अन्य ५ पालिकाले भने वर्षे फुलफूलका बिरुवाका लागि बजेट विनियोजन नगरेका कारण कृषि विकास कार्यालयले बिरुवा वितरण गर्न लागेको हो ।

आठबीसकोट नगरपालिकामा दाँते ओखरकाको राम्रो सम्भावना भएकाले आउँदो वर्ष भने दाँते ओखर वितरणको कार्यत्रम बनाएको निमित्त प्रमुख केसीले बताउनुभयो ।

वर्षे फलफूलका बिरुवा लगाउन इच्छुक व्यवसायिक कृषक, कृषक समुह, कृषि सहकारी र नीजि फर्महरुले जेठ ३० गते भित्र बिरुवा माग गर्न सक्ने छन् भने बिरुवाको कुल मुल्यको १५ प्रतिशत रुकम कृषि विकास कार्यालय वा सम्वन्धित शाखामा जम्मा गर्नुपर्ने हुन्छ ।

आँप लिचि र एभोकाडाको हकमा भने कम्तिमा १० विरुवा भन्दा माथी र सुन्तला कागतिको बिरुवा कम्तिमा १५ बोट भन्दा माथि लैजानु पर्ने छ । बिरुवाको माग संकलन गर्ने कार्यक्रम जारी रहेकाले असार १० गते भित्र किसानलाई बिरुवा वितरण गरिसक्ने केसीले बताउनुभयो । बिरुवाका लागि ८ लाख रुपैयाँ बजेट रहेको बताइएको छ ।।

प्रतिक्रिया