खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौँ : प्रधानमन्त्री प्रचण्ड

खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौँ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ –  प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल फर्किएका छन्।

मंगलबार सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री दाहाल काठमाडौँ फर्किएका हुन् । प्रधानमन्त्री दाहालले सम्मेलन उद्घाटन गर्दै खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिनुभयो।

‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ, खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौँ,’ उहाँले भन्नुभयो ।

आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताउनुभएको थियो । उहाँले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिवद्ध रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायत उपस्थित थिए ।

रामदेव पश्चिमी सीमा नाका गड्डाचौकी भएर धनगढीबाट हेलिकप्टरमा खप्तड पुगेका थिए । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट आध्यात्मिक सम्मेलन सुरु भएको हो ।

भू–स्वर्गका रुपमा चिनिने खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ।

सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम पनि तय भएको छ। अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया