गुराँस गाउँपालिकाका अध्यक्ष बिरुद्ध गालीबेइज्जती मुद्दा दर्ता

गुराँस गाउँपालिकाका अध्यक्ष बिरुद्ध गालीबेइज्जती मुद्दा दर्ता

जनप्रतिनिधिहरु अनुभव कर्मचारीहरुको असहयोगले नीति योजनामा राखिएका कार्यक्रमहरु प्रभाकारी सञ्चालन हुन नसकेको असन्तुष्टी छ, उता कर्मचारीहरु जनप्रतिनिधिहरुको हस्तक्षेपकारी भूमिका रहेको आरोप लगाउछन् । आरोपप्रत्यारोप भए पनि कार्य सम्पादन विषयमा अदालतमा उजुरी पुगेको यो पहिलो घटना हो ।

दैलेख – गुराँस गाउँपालिकाकी नासु ४४ वर्षीय उर्वसी रेग्मीले आफूलाई काम गर्न वातावरण नभएको, अममान र हैरानी गराउने गरेको भन्दै गाउँपालिका अध्यक्ष ५३ वर्षीय टोपबहादुर बीसी समेत चार जना बिरुद्ध मंगलबार दैलेख जिल्ला अदालतमा गाली बेइज्जती उजुरी दर्ता गराउनुभएको छ ।

गाउँपालिका अध्यक्ष बीसीका अलवा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, अधिकृत ४० वर्षीय मदनप्रकाश मल्ल र गुराँस गाउँपालिका–६ का पूर्व वडाध्यक्ष ३७ वर्षीय हिम ओलीले आफूलाई असहयोग, अपमान र गाली गलौज गर्ने गरेको भन्दै नासु रेग्मीको उजुरीमा उल्लेख छ ।

साविकको जिल्ला विकास समिति अन्तरगतको स्थानीय विकास कोषमा २०६५ देखि सुरु गरेको नासु (सहायक पाँचौं) जागिरको १० वर्ष बिताएर रेग्मीकाे पाँच वर्ष अघि अर्थात २०७५ मा गुराँस गाउँपालिकामा पदस्थापना भएको हो । जिविसमा छँदै आन्तरिक स्थायी रेग्मीले गएको साउन यता आफूलाई असहयोग भएको जनाउनुभएको छ ।

२०७९ असारमा नयाँ जनप्रतिनिधिले अस्थायी ज्यालादारी कर्मचारी हटाएपछि स्थायीहरुलाई व्यवस्थापन गराउँदा साउन १६ गते आफूलाई वडा नं. ४ को वडासचिव खटाएको, चार दिनपछि आर्थिक प्रशासन शाखामा पठाएको, त्यसको केही समयमा योजना शाखा र गएको मंसिर १३ गतेदेखि सामाजिक तथा सहकारी शाखामा पठाउने अनि जति नै मेहेनतसंग काम गरे पनि अपजस दिने गरेको आरोप छ ।

यस बारे प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीको प्रतिक्रिया यस्तो छ ‘उहाँलाई जहाँ जिम्मेवारी दियो सन्तोषप्रद काम गर्नुभएन । लिखित राजीनामा दिनुभएको थियो, आवेशमा होला भनेर सम्झाईबुझाई काममा लगाइएको हो । जिम्मेवारी अनुसार काम गर्न लगाएको कुरालाई अदालतमै मुद्दा पु¥याउनेलाई हामीले के भन्ने ?’

‘बजेट बनाउने समयमा कामको चापाचाप छ, यो बेला गाउँपालिकाबाट तलब खानेगरी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालयमा काजमा बस्ने चिठ्ठी ल्याएर आउनुभएको रहेछ, कतै पठाउन सकिंदैन भनेर प्रशासन प्रमुखले सम्झाउनुभएको रहेछ । यसैमा नासु रेग्मीले उजुरी दिनुभएको थाहा पाएँ’ गाउँपालिका अध्यक्ष बीसीले भन्नुभयो ।

अध्यक्ष बीसीले भन्नुभयो ‘जेठ १७ गते साढे ५ बजे आफूलाई गाली गलौज र अश्लिल शब्द बोलेको भनी उजुरीमा लेखिएको रहेछ । मेरो उहाँसंगै भेटै भएको छैन, मनगढन्ते उजुरी दिइएको पाइयो ।’ उहाँले थप्नुभयो ‘कसैको उक्सावटमा कर्मचारीले काममा अहसयोग गर्ने र उजुरीमा हाल्नेसम्मका काम भए ।’ गाउँपालिका अध्यक्ष बीसीले भन्नुभयो ‘उजुरी अदालत पुगिसकेकोले आफ्ना कुरा अदालतमै भन्छौं ।’

दैलेखमा चार नगरपालिका र सात गाउँपालिका समेत ११ स्थानीय तहका ९० वडामा तीन हजार भन्दा बढी कर्मचारी छन् । स्थानीय तहका जनप्रतिनिधिहरुकाे अनुभव कर्मचारीहरुको असहयोगले नीति योजनामा राखिएका कार्यक्रमहरु प्रभाकारी सञ्चालन हुन नसकेको असन्तुष्टी छ, उता कर्मचारीहरु जनप्रतिनिधिहरुको हस्तक्षेपकारी भूमिका रहेको आरोप लगाउछन् । आरोपप्रत्यारोप भए पनि कार्य सम्पादन विषयमा अदालतमा उजुरी पुगेको यो पहिलो घटना हो ।

 

 

 

 

प्रतिक्रिया