बढ्दो महँगीले समस्यामा मजदुर, दुई छाक टार्न मुस्किल

बढ्दो महँगीले समस्यामा मजदुर, दुई छाक टार्न मुस्किल

सल्यान-  बढ्दो महँगीले सल्यानका मजदुरलाई दुई छाक टार्न मुस्किल हुन थालेको छ । बढ्दो महँगी साँझ बिहानको छाक टार्न कोही खोला किनारमा बालुवा गिट्टी कुटि रहेका छन् त कोही पूर्वाधारका काममा जुटेका छन् । सीमित आय र बढ्दो महँगीका कारण मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ ।

आफ्नै खेतबारीमा लगाएको अन्नपातले बाह्रै महिना नधान्ने भएकाले दैनिक गुजारा चलाउन खोला किनारमा गिट्टी कुट्नु पर्ने बाध्यता रहेको दार्मा गाउँपालिकाका शिव बहादुर वि।कले बताउनुभयो । बजार भाउ महँगो हुँदै जाँदा दैनिक गुजारा चलाउन धौ धौ हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘घरमा भएको अन्नपातले तीन महिना भन्दा बढी पुग्दैन । घरका सन्तानलाई भोकै राख्नु भएन । बाध्यताले गर्दा खोला किनारमा आएर गिट्टी कुट्दै आइरहेको छु ।’

यस्तै विगत चार वर्षदेखि खोलामा किनारमा गिट्टी कुट्दै आउनु भएकी ७० वर्षीय तलकी वि।क को अवस्था पनि फरक छ्रैन् । एक गासकै लागि दिनरात नभनी वृद्धा अवस्थामा पनि उहाँले गिट्टी कुट्दै आइरहनु भएको छ । एक महिना लगाएर कुटेको गिट्टी ३ हजार ५ सय बिक्री हुने र त्यहीबाट आएको पैसाले घर खर्च चलाउँदै आएको उहाँको भनाई छ ।

कामकै लागि मजदुर अन्तरपालिका तथा बाह्य जिल्ला र भारतसम्म पुग्ने गरेका छन् । घरको गर्जो टार्न र छोराछोरीको शिक्षादीक्षाका लागि बाह्य जिल्लामा गएर सडक लगायत अन्य पूर्वाधारका कामहरू गर्दै आइरहेको धनवीर विष्टको भनाई छ । रोजगारीकै लागि पोखरा, स्याङ्जा, काठमाडौँ देखि भारतसम्म पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘के गर्नु घर खर्च चलाउनै प¥यो । छोराछोरीलाई पनि पढाउनै प¥यो । घरमै बसेर पैसा नआउने । त्यसैले जोखिम मोलेर भएपनि मजदुरी गर्दै आइरहेको छु ।’

मजदुरहरू अव्यवस्थित, असुरक्षित एवं जोखिम समेत मोलेर काम गर्दै आइरहेका छन् । छोराछोरीको पालनको लागि पिरोलिएका मजदुर काममा लगाउने साहुको खोजीमा हुने गरेका छन् । गाउँमा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन पनि केही राहत भएपनि कामको चिन्ताले सधैँ सताउने गरेको अर्का मजदुर मानसिंह नेपालीले बताउनुभयो ।

 

प्रतिक्रिया