बजारीकरण अभावमा बिरुवा बिक्री गर्न समस्या

बजारीकरण अभावमा बिरुवा बिक्री गर्न समस्या

गुल्मी – गुल्मीमा बजारीकरणको अभावमा नर्सरीमा उत्पादित बिरुवा बिक्री गर्नका लागि समस्या देखिएको छ । जिल्लाभित्र उत्पादित बिरुवा प्रशस्त हुँदा हुँदै पनि बाहिरी जिल्लाबाट बिरुवा भित्रिने गरेका कारण आफूहरू समस्यामा परेको किसानले गुनासो गरेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ का वीरबहादुर कार्कीले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । तर उहाँले उत्पादन गरेका बिरुवा भने सन्तोषजनकरूपमा बिक्री हुन सकेका छैनन् । कार्कीले १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

गुल्मीका विभिन्न कार्यालय, पालिकाले सुन्तला र कागतीलगायतका बिरुवा खरिद गरेर किसानलाई वितरण गरे पनि यी कार्यालयले बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएका कार्कीले गुनासो गर्नुभयो । आफ्नो नर्सरीमा राम्रा बिरुवा हुँदा हुँदै पनि बाहिरी जिल्लाबाट बिरुवा ल्याएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

बिरुवा बिक्रीबाट बर्सेनि सातदेखि १७ लाख रुपैयाँसम्म आम्दानी गर्ने कार्की यस वर्ष कतै बिरुवा बिक्री नहुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो, धुपीलगायतका बिरुवा रहेका छन् ।

२०६४ सालमा २० हजार रुपैयाँबाट सुरु गरेको कार्कीको नर्सरीको लगानी अहिले ४६ लाख रुपैयाँ पुगेको छ । कार्कीले दुई रोपनी निजी र पाँच रोपनी जग्गा लिजमा लिएर अहिले सात रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।-उज्यालो

प्रतिक्रिया