बालश्रम मुक्त बनाउन सचेत नागरिक समाजको अग्रसरता जरुरी

बालश्रम मुक्त बनाउन सचेत नागरिक समाजको अग्रसरता जरुरी

दैलेख –  प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बालश्रम शोषण मुक्त समाज बनाउन सचेत नागरिक समाजको अग्रसरता जरुरी रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय बालश्रम बिरुद्धको दिवसको अवसरमा सोसेक नेपालको समन्वय जिल्ला प्रशासन कार्यालय आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सोमवार उहाँले सो विचार राख्नुभएको हो ।

अन्तरक्रियापछि दैलेख सदरमुकामका होटलहरुमा पुगी बालश्रमको अवस्था अनुगमन गरिएको छ । सचेतनाका लागि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो ।

अनुगमनले होटल व्यवसायीहरुलाई सचेत गराएको दैलेख सदरमुकामको एवान रेष्टूरेण्टका सञ्चालक भीमबहादुर थापाले सुनाउनुभयो । उहाँले भन्नुभयो ‘हामीले बालबालिका काममा लगाएका छैनौं, अरुहरुलाई बालश्रम नगराउन सुझाव दिएको राम्रै हो ।’

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाको नेतृत्वमा भएको बालश्रमको अवस्था अनुगमनमा बाल अधिकार सरोकारमा काम गर्ने नागरिक समाज संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको समेत सहभागिता थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय र सोसेक नेपालको समन्वयमा नारायण नगरपालिकाको आयोजनामा नारायण नगरपालिका–३ को भूर्तीमा बालश्रम शोषण समस्या र समाधान विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

बालअधिकारको सवाल र बालश्रम रोकथाम विषयमा सोसेक नेपालका बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय दैलेखका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रका इञ्चार्ज असई सुशीला भूसालले बालश्रम गर्ने हुने कानूनी कारवाही र बालबालिकाको सर्वोेत्तम हित विषयमा अभिमुखीकरण गराउनुभएको थियो ।

नारायण नगरपालिकाका कार्यपालिका सदस्य रत्ना नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी टीका जैसी, नारायण नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख गोमा केसीले पनि बालश्रम शोषण निम्त्याउने समस्याहरुका विषय बोल्नुभएको थियो ।

प्रतिक्रिया