दाशुको शालिक अनावरण गर्न प्रधानमन्त्री दैलेख पुग्दै
दैलेख – दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरुको पुख्र्यौली दह गाउँमा कुल शिरोमणि दाशुको शालिक अनावरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार दैलेख पुग्नुहुने भएको छ । दाशुको सुरुको बसोबास मानिएको दह गाउँमा साढे छ फिटको पूर्णकदको शालिक स्थापना गरिएको छ ।
दाशुको शालिक जेठ २५ गते काठमाडौंबाट रथमा राखी देवघाट, नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ्ग, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पु¥याइएको हो ।
दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य राखिएको प्रतिष्ठान गठन गरिएको छ । शालिक स्थापनाका लागि गौरी गाविसका पूर्व अध्यक्ष कविप्रसाद दाहालले जग्गा दान दिनुभएको छ ।
कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाशुको शालिक निर्माण तथा संरक्षणको लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो । प्रतिष्ठानले दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरु एकै कुल बंशीय भएको बंशावली समेत तयार पारेको छ ।
दुई साता अघि भारत भ्रमणको बेला मध्य प्रदेशको उज्जैनस्थित एक धार्मिक अनुष्ठानमा गेरुशस्त्र पहिरिएर पूजाअर्चना गरेको, शनिबार पशुपतिनाथको मन्दिरमा पूजा गर्नुभएको लगतै दैलेखमा जातीय बंशावली खोज्दै दैलेख पुग्नु लाग्नुभएको सन्दर्भलाई प्रधानमन्त्री प्रचण्डमा धार्मिक आध्यमिकताको बिश्वास बढेको रुपमा व्याख्या गरिएको छ ।
२०५२ देखि साढे १० बर्ष चलेको सशस्त्र युद्धका सवोच्च कमाण्डर प्रचण्डकै निर्देशनमा धार्मिक अन्धबिश्वास र विभेद बिरुद्ध गतिविधिलाई भौतिकवादी दर्शनको रुपमा मानिन्थ्यो । साढे पाँच वर्ष अघि छोरा प्रकाश दाहालको ३६ वर्षको उमेर निधनपछि पत्नी सीता दाहाल बेहोस अवस्थामा बाँचिरहनुभएको कारण पत्नीको स्वास्थ्य सुधारको कामना गर्न पनि धार्मिक बिश्वास जागेको धेरैको भनाई छ ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय पाँचौ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली सेनाको हेलिकोप्टरमार्फत् दिउँसो दह गाउँ पुग्ने कार्यक्रम तय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया