कृषि उत्पादनमा वृद्धि गर्न निःशुल्क माटो परीक्षण
सल्यान- सल्यानको शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा निःशुल्क माटो परीक्षण गरिएको छ । एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोग र शारदा नगरपालिका छत्रेश्वरी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।
माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ । धान बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको १५ वटै वडाबाट माटो सङ्कलन गरी परीक्षण गरिएको शारदा नगरपालिका कृषि विकास शाखाकी श्वेता राईले बताउनुभयो ।
उहाँका अनुसार १५ वटै वडाबाट सङ्कलित २०८ मोटोको नमुना परीक्षण गर्दा ८० मा अम्लीय १११ वटामा तटस्थ र १७ मा क्षारीयपना भेटिएको छ । नगरभित्र कृषि जन्य वस्तुको उत्पादनलाई बढवा दिन र विद्यमान माटोको अवस्थाको विश्लेषण तथा सुधार गर्न माटो परीक्षण शिविर आयोजना गरिएको उहाँको भनाई छ ।
माटो परीक्षणका क्रममा अम्लीय भेटिएको माटोको सुधारका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिने समेतले राईले बताउनु भयो । किसानले युरिया मलको मात्र प्रयोग गर्दा माटोमा अक्लियपना बढी हुने र खाद्यत्व उत्पादनमा कमी हुँदै जाने उहाँको भनाई छ ।
प्रतिक्रिया