असार १ गतेदेखि कपुरकोटमा तरकारी हाटबजार लाग्ने

असार १ गतेदेखि कपुरकोटमा तरकारी हाटबजार लाग्ने

सल्यान-  बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोटमा यस बर्षको हाट बजार सञ्चालन गर्ने तयारी गरिएको छ ।

कपुरकोट क्षेत्रका कृषकहरुले खेती गरेको तरकारी विक्रीका लागि तयार भैसकेकाले सल्यानमै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार हप्ताको दुई दिन लगाउने तयारी गरिएको हो । असार १ गते देखी हप्ताको दुइ दिन मंगलवार र शुक्रवार हाट वजार सञ्चालन गरिने कृषि उपज वजार सञ्चालक समिती कपुरकोटले जनाएको छ ।

कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती गरेका कृषकको तरकारी वजार निर्यात गर्न तयार भैसकेकाले हाटवजार सञ्चालन गर्न लागिएको समितीले जनाएको छ । विशेष गरेर वर्षायाममा तरकारी खेती हुने कपुरकोटमा यो वर्षको सिजन शुरु भएको हो । किसानले उत्पादन गरेको टमाटर, काउली, बन्दागोपी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौषमी तरकारी बिक्रीका लागि तयार भैसकेका छन् ।

कपुरकोट स्थित कृषि उपज वजार सञ्चालक समितीका अनुसार गएको सिजनमा यसक्षेत्रबाट मात्रै १७ करोड भन्दा बढीको तरकारी किसानहरुले विक्रि गरेका छन् । गएको आर्थिक बर्ष २०७९/८० को झण्डै ६ महिनामा यसक्षेत्रबाट १७ करोड २३ लाख १६ हजार ५ सय ९० रुपैँयाको तरकारी बिक्री भएको छ । समितीका अनुसार यो शिजनमा ४२ लाख ९ हजार ९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको हो ।

कपुरकोटबाट देशका भिभिन्न शहर बजारका व्यापारीहरुले ताजा तरकारी ४१ लाख २३ हजार २ सय ९१ किलो, अदुवा ६७ हजार ३ सय ७० किलो र १८ हजार ४ सय ३१ किलो फलफूल खरिद गरेर लगेका छन् । अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा यसक्षेत्रबाट १८ करोड ३५ लाख ४८ हजार ९ सय ९० रुपैँयाको तरकारी बिक्री भएको थियो । जसमा ताजा तरकारी ३८ लाख ६१ हजार ३ सय ४२ किलो, अदुवा ८४ हजार ३ सय ५२ किलो र फलफूल १६ हजार ३ सय ९३ किलो गरेर जम्मा ३९ करोड ६२ लाख ९१ किलो ताजा तरकारी र फलफूल निकासी भएको हो ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारीलाई वजार निर्यात गर्नको लागि कुनै समस्या नभएको बताउनुभयो । उहाँले बेमौसमी रुपमा उत्पादन भैरहेको तरकारीलाई अर्गानिक ब्राण्डिङका रुपमा वजार पठाउने तयारी भैरहेको पनि बताउनुभयो । ‘यस बर्षको तरकारी हाटबजार शुरु हुदैँ छ, कृषकहरुले ढुक्कसँग आफुले उत्पादन गरेको तरकारी बिक्री गर्न सक्छन्’ उहाँले भन्नुभयो ।

कपुरकोट गाउँपालिका भित्रका सबै वडामा गरेर २८ वटा सहायक तरकारी बजार लाग्ने र ग्रामिण कृषि सडकहरुको निर्माण तथा स्तरोन्नति गरिएकाले तरकारी ढुवानीमा पनि समस्या नभएको उहाँको भनाइ छ । ‘शुरुवातमा तरकारीको वजारीकरणमा समस्या थियो, अहिले त्यो समस्या छैन्, तर बाहिरी बजारको सुनिश्चितता नगरेर उत्पादन बढाउदा मुल्यमा गिरावट आउने सम्भावना धेरै हुन्छ’ उहाँले भन्नुभयो ‘अव कपुरकोटको तरकारीको आफ्नै ब्राण्ड वनाएर निर्यात गर्छौँ ।’

उहाँले तरकारीको उत्पादन बढाउने र वजार सुनिश्चितता गर्ने सम्बन्धमा कृषकहरुसँग बृहत छलफल गर्ने र गाउँसभा मार्फत निर्णय गरेर अघि बढ्ने बताउनुभयो । यसक्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा लगाएतका मुख्य वजारमा निर्यात हुने गर्दछ ।-सल्यानटुडे

प्रतिक्रिया