बजार भाउ नपाएको भन्दै किसानले फाले गोलभेँडा
काठमाडौँ – सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइरहँदा किसानले कालीमाटीमा गोलभेँडा फालेका छन् । आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको विरोधमा किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका हुन् ।
जबकि, सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलु लगायतका वस्तुमा भ्याट लगाउने निर्णय गरेको छ । यसबाट आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा. प्रकाशशरण महतको भनाई छ । तर, आन्तरिक उत्पादनको सिजनको समयमा गोलभेँडा उत्पादकले लागतअनुसारको मूल्य पाइरहेका छैनन् ।
यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रुपैयाँ छ । यसको अर्थ किसानले खेतमा बढीमा प्रतिकिलो १ रुपैयाँदेखि २ रुपैयाँसम्म मात्रै भाउ पाउने गरेका छन् । यसैको विरोधमा कालीमाटीमा सडकमा गोलभेँडा फालेर किसानले विरोध जनाएका हुन् ।
प्रतिक्रिया