पोषिलो खाना प्रदर्शनी तथा साक्षरता कक्षा कायर्यक्रम सम्पन्न

पोषिलो खाना प्रदर्शनी तथा साक्षरता कक्षा कायर्यक्रम सम्पन्न

सुर्खेत-  सुर्खेतको बराहताल गाउँपालिकामा पोषिलो खाना प्रदर्शनी तथा साक्षरता कक्षा कायर्यक्रम सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम अन्तरगत वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा अन्तर्गत पोषिलो खाना प्रदर्शनी तथा साक्षरता कक्षा सम्पन्न भएको हो ।

कृषि क्षेत्र विकास कार्यक्रमको सहयोग तथा कुनाथरी कृषि तथा पशुपालन कृषि सहकारी संस्था लिमिटेड, साना किसान कृषि सहकारी संस्था लिमिटेड र हरियाली बहुउद्देश्यीय कृषक समुहको सयुक्त आयोजनामा संचालन भएको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लालघारी अर्गानिक कृषक समुहका अध्यक्ष लाल बहादुर बस्नेतको अध्यक्षता र बराहताल गाउँपालिका अध्यक्ष भिम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक (सहसचिव) वासुदेव काफ्ले र कृषि विभागका उप-महानिर्देशक (सहसचिव)डा. शान्ता कार्की तथा अन्य अतिथि लगायतको आतिथ्यता रहेको थियो ।

अन्य अतिथिहरुमा बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगर, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापा, बरिष्ठ बागबानी अधिकृत यमकुमारी श्रेष्ठ, वरिष्ठ बागबानी अधिकृत रिति सिंह, बाली संरक्षण अधिकृत कविता सुवेदी, बराहताल गाउँपालिका वडा नं २, ५, ७ र ८ का सम्पपुर्ण वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरु, कृषि, पशु, स्वास्थ्य शाखा प्रमुखहरु, कृषि क्षेत्र विकास कार्यक्रमका ग्रामीण वित्त विज्ञ, पोषण विज्ञ तथा ज्ञान व्यवस्थापन र संचार अधिकृत लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा रहेको बताइएको छ ।

कार्यक्रमको क्रममा जतिपनि कुराहरु यहाँ प्रदशनीमा राखिएका छन् ती खाद्य परिकारहरु हाम्रो दैनिक जीवनमा उपभोग गर्नुपर्ने गाउँपालिका अध्यक्ष भिम भण्डारीले बतानुभयो । पालिकाले एक घर एक करेसाबारी बनाउने नीति अनुरुप कृषि क्षेत्रमा काम गरिरहेको छ,’उहाँले भन्नुभयो, ‘हामीले अहिलेका बालबालिकालाई सबल बनाउन सक्यौँ भने मात्र भोली सक्षम नेतृत्व तयार गर्न सकिने हुनाले बालबालिकाको गर्भावस्था देखि नै पोषिलो खानामा ध्यान दिनुपर्ने हुन्छ । त्सका लागि पालिकामा कार्यरत कर्मचारीहरुले जिम्मेवारी पूर्वक काम गर्न निर्देशन छ ।’

त्यस्तै कृषि विभागका उप-महानिर्देशक डा. शान्ता कार्कीले हामीले खाने अर्गानिक खाद्य पदार्थहरु गाउँठाउँमा खेती गर्न छोडेको हुनाले पहिलेको तुलनामा लोप हुँदै गईरहेको बताउनुभयो । त्यस्ता अर्गानिक खाद्य पदार्थहरुको संरक्षण गर्दै उत्पादन र उपभोग गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।

अहिले स्थानीय रैथाने उत्पादन उपभोग गर्न छोडेर बाहिरबाट ल्याएका बिस्कुट र चाउचाउको प्रयोग बढ्दो अवस्थामा रहेकोले यस्ता कुराको प्रयोग गर्न छोड्नुपर्ने कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक (सहसचिव) वासुदेव काफ्ले बताउनुहुन्छ । अब यी र त्यस्ता कुराहरुलाई छोडनुपर्ने देखिन्छ,’उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमहरु त निचिश्त समयका लागि संचालन भएर सकिने भएकोले स्थानीय सरकारले कार्यक्रमका असल अभ्यासहरुलाई अनुसरण गरी निरन्तरता दिनुपर्ने हुन्छ ।’

पहिले बजारको तरकारी किनेर खाने गरेको थियौँ तर, अहिले आफैले उत्पादन गरेको तरकारी उपभोग तथा बिक्रि पनि गर्न सुरु गरेको कार्यक्रममा सहभागी स्थानीय कृषक कृष्णा सिजापति बताउनुहुन्छ । कृषि क्षेत्र विकास कार्यक्रमसंग जोडिए पछि अहिले आएर दिनचर्या बदलिएको छ,’ उहाँले भन्नुभयो, ‘हिजो मेलापात घाँस दाउरा गर्नमै व्यस्त महिला दिदिबहिनीहरु अहिले व्यावसायिक रुपमा तरकारी खेती गर्न थाल्नुभएको छ ।’

मूल्य शृङ्खलामा आवद्ध कृषकहरुमा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरताको माध्यमबाट वित्तीय सेवाहरुको प्रयोग तथा समयानुसार व्यक्तिगत, घरायसी र आफ्नो लघु उद्यममा वित्तीय अनुशासन तथा वित्तीय व्यवस्थापन गर्ने क्षमता वृद्धि गर्नु वित्तिय शिक्षा तथा व्यावसायिक सारक्षता कक्षा संचालनको उद्देश्य रहेको कृषि क्षेत्र विकास कार्यक्रमका ज्ञान व्यवस्थापन तथा संचारअधिकृत रत्नबहादुर बुढा बताउनुहुन्छ ।

आफ्नो सीप, क्षमता, लगानी तथा भौगोलिक अवस्था अनुसार उपयुक्त व्यवसायको छनौट तथा संचालन गर्न सहजीकरण गर्नु, समूह सदस्यहरुलाई उद्यम सञ्चालन तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नु लगायतका उद्धेश्य रहेको बढाले बताउनुभयो ।

त्यस्तै वित्तीय आवश्यकताको पहिचान तथा उपलब्ध स्रोतको बारेमा जानकारी गराउनु, पोषण पाठशाला संचालन गर्ने र एक सदस्य एक पोषण बगैंचाको अभियान संचालन गरि पोषण तथा स्वास्थ्य र चेतनाको विषयलाई घर तथा परिवार सम्म पु¥याउन सु सूचित गर्ने उद्धेश्य हो,’उहाँले भन्नुभयो, ‘ यति मात्र नभएर मूल्य शृङ्खलामा आवद्ध समूह र सहकारीको आम्दानी खर्चको हिसाब किताब राख्न सहजीकरण गर्ने । प्रजनन उमेरका विशेषत १५ देखि ४९ वर्ष सम्मका महिला सदस्यहरूलाई खाद्य विविधताको बारेमा चेतना अभिवृद्धि गर्नु वित्तिय शिक्षा तथा व्यवसायिक सारक्षता कक्षा संचालनको उद्देश्य रहेको छ ।’
कृषि क्षेत्र विकास कार्यक्रम मार्फत बराहताल गाउँपालिकामा ७० वटा समुह र सहकारी मार्फत १ हजार सात सय ५० घरधुरीमा विभिन्न कार्यक्रमहरु संचालन भइरहेको ज्ञान व्यवस्थापन तथा संचार अधिकृत बुढाले बताउनुभयो ।

 

प्रतिक्रिया