एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन भदौ २९ र ३० गते हुने

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन भदौ २९ र ३० गते हुने

सुर्खेत –  नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन २०८० भदौ २९ र ३० गते हुने भएको छ। सोमबार बसेको एमाले प्रदेश कमिटीको पाँचौ पूर्ण बैठकले अधिवेशन भदौमा गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले प्रदेशको प्रथम अधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने बताउनुभयो ।  उहाँका अनुसार पार्टीले प्रदेशको इन्जार्च तोकिएका पार्टी सचिव लेखराज भट्टलाई स्वागत तथा पूर्व प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य यामलाल कँडेललाई बिदाई गरिएको छ ।

उक्त बैठकमा प्रदेश कमिटी अध्यक्ष शाहले बैठकमा राजनीतिक सांगठनिक प्रतिवेदन २०८० र प्रदेशका १० वटै जिल्लाका जिल्ला कमिटी अध्यक्षले जिल्लागत विवरण प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा बोल्दै नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कर्णाली गरिब नभएको तर, नीतिगत निर्माण दबाबमा बल नपुगेको बताउनुभयो । भट्टले कर्णालीको भूगोलमा प्राप्त स्रोत साधनको प्रयोगमा ल्याउने नितीगत निर्माणमा जोड दिई पार्टीकै भूमिकाले सम्भव हुने स्पष्ट पारे। उहाँले भन्नुभयो, ‘कर्णाली गरिब छैन। हाम्रो नीतिगत निर्माण दबाबमा बल नपुगेको हो। श्रमजीवी वर्ग समुदायको पक्षमा प्रदेशको बजेटले किन प्राथमिकता पाएन, ती कुरा जनताकोबीचमा गएर बुझाऔँ।’

यस्तै, सचिव भट्टले पार्टीको विचार, नीति, सिद्धान्त र विधीमाथि भईरहेको हमेलालाई परास्त गर्न मिसन ग्रासरुट सम्पन्न गर्दै जनसरोकारका विषयहरु शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेर पार्टीको विचारसहित संगठन निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसले पार्टीको काममा कमीकमजोरी बुझेर आत्माआलोचना गरेर मबाट हामीमा रुपान्तरण हुन्छ ऊ पार्टी असल नेता हो। अनौपचारिक जनवादको अभ्यास गरौ, अन्तरविरोध हुनै पाउँदैन् ।’

साथै, उहाँले बैठकमा सहभागीहरूलाई सामूहिक रुपमा एकतावद्व भएर काम गरेपछि अवश्य पनि सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया