विकास योजनाहरु बजेट सदुपयोग गर्न सुझाव

विकास योजनाहरु बजेट सदुपयोग गर्न सुझाव

स्थानीय सरकारले आएका योजनाहरु खर्च गर्न नसक्ने अनि योजना परेनन् भन्नू तालमेल खाएको छैन । 

दैलेख – कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले केन्द्र र प्रदेशबाट आएका विकास योजनाहरु बजेट सदुपयोग गर्न सुझाव दिनुभएको छ । जिल्ला समन्वय समिति दैलेखले आयोजना गरेको छैटौं जिल्ला सभा उद्घाटन समारोहमा स्थानीय सरकारले आएका योजनाहरु खर्च गर्न नसक्ने अनि योजना परेनन् भन्नू तालमेल नखाएको टिप्पणी गर्नुभयो ।

सामाजिक विकास समितिका अध्यक्ष भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिहरु सपथ ग्रहणपछि निष्प्क्ष र साझा जिम्मेवारी निर्वाह गर्न जरुरी हुनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति मणीराम रेग्मीले राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरु आफैलाई जिताउने दललाई बिर्सिने, बेवास्ता गर्ने र सल्लाह नमान्ने गरेको असन्तुष्टी सुनाउनुभयो । ‘राजनीतिक दलहरुको सल्लाह लिंदा राम्रै हुन्छ’ सभापति रेग्मीले सुझाव दिनुभयो ।

कर्णाली प्रदेशसभाका साँसद पूर्णबहादुर खत्रीले प्रदेश सरकारबाट सञ्चालन भएका योजनाहरु पक्षपात र दुरुपयोग भएको भन्ने सिकायतहरु बारे प्रदेशसभामा छलफल चलाउने अनि आगामी दिनमा यस्ता समस्याहरु सुधार हुने बचन दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले महिला, बालबालिका, ज्येष्ठनागरिक, दलित, जनजाति लगायतका जाति, वर्ग, क्षेत्र वा समुदाय लक्षित निश्चित प्रतिशत तोकेर विकास कार्यक्रममा बजेट बिनियोजन गर्न लगाउने जिससको नीति, कार्यक्रम र मागदर्शन रहेको सुनाउनुभयो ।

‘दैलेखको गौरब, दैलेखको शान–सम्पूर्ण दैलेखबासीको मुहारमा मुस्कान’ नारा दिइएको जिल्लासभामा जिससको नीति, कार्यक्रम र मागदर्शनमा जिल्लाको सामाजिक समस्या, शिक्षा, स्वास्थ्यका सवाल, जिल्लाको ऐतिहासिक तथा साँस्कृतिक पहिचान र पर्यटन प्रवद्र्धन विषयमा अवधारणा प्रस्तूत गरिएको थियो ।

जिल्लासभाको खुला समयमा दुल्लू नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले विकास योजना महत्वाकाँक्षी रहेको तर नागरिक तह र सरोकारवाला सबै क्षेत्रबाट अबरोध र असहयोग रहेको सुनाउनुभयो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले जिल्ला समन्वय समितिले प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले प्रदेश सरकारले दिने योजनाहरु व्यक्तिलाई तोकेर दिने गरेको र भुक्तानी प्रक्रिया पनि अपारदर्शी रहेको बताउनुभयो ।

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा, डुंगेश्वर गाउँपालिका अध्यक्ष सुन्दर केसी, महाबु गाउँपालिकाका कार्यबहाक अध्यक्ष मञ्जू पाण्डे, भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारी लगायतका जनप्रतिनिधिले विकास योजना प्रभावकारी बनाउन सहकार्य सवालमा सुझाव राख्नुभएको थियो ।

जिल्लासभामा जिसस उपप्रमुख केशव शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, पूर्व जिविस सभापति टेकबहादुर खाण, नेकपा माओवादी केन्द्रका इञ्चार्ज प्रेम कटुवाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजाल, गैसस महासंघका जिल्ला अध्यक्ष महारुप खत्री लगायतले जिल्ला सभामा उठेको सुझाव प्रभावकारी कार्यान्वयन विषयमा बोल्नुभयो ।

त्यसबखत अधिकारकर्मी प्रभाकुमार बिकले सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्र सेल्टर सञ्चालनका लागि आर्थिक श्रोत सहयोग निम्ति आग्रह गर्नुभयो । त्यसैगरी पत्रकारद्वय अमर सुनार, भक्त शाहीले विकास कार्यक्रम पारदर्शिता र जवाफदेहिताको आवश्यकता दर्शाउनुभयो ।

प्रतिक्रिया