महिला र बालबालिका सवालहरुमा प्रहरी सम्वेदनशील : कार्की

महिला र बालबालिका सवालहरुमा प्रहरी सम्वेदनशील : कार्की

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखका मुद्दा शाखा इञ्चार्ज प्रहरी इन्स्पेक्टर पुरुषोत्तम कार्कीले महिला र बालबालिका पीडित भएका सवालहरुमा प्रहरीले सम्वेदनशील रहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा शुक्रबार आयोजना गरेको वर्ष पुस्तक घटना अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा बास्तविक घटनाका पीडितहरुको न्यायको निम्ति प्रहरी र सरकारका निकायहरु सधैं तत्पर रहेको उहाँले प्रष्ट्याउनुभयो ।

प्रहरी इन्स्पेक्टर पुरुषोत्तम कार्कीले मानव अधिकार वर्ष पुस्तक र प्रकाशन गर्ने अरु प्रकाशनहरुमा तथ्य र तथ्यांकहरु प्रहरी लगायत सरकारी निकायसंग तालमेल खाने हुनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा युवा अभियन्ता सुनिता सुनारले बालिका माथि हुने यौन दुव्र्यवहार तथा बलात्कारजन्य घटनाबाट जोगिने सीप र ज्ञान आवश्यकता दर्शाउनुभयो । उमेर पुगेको महिलाको तुलनामा बालिकाहरु असुरक्षित हुन थालेपछि आफू लगायतका अभियन्ताले स्वयसेवी रुपमा किशोरी आत्मरक्षा अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

त्यस बखत सोसेक नेपालको बाल हेल्पलाइनका बाल संरक्षण अधिकृत प्रभाकुमार बिकले लुकेका सबैजसो घटनाहरु खोजी गरी प्रकाशनमा ल्याउन सके समाजमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका जिल्ला महासचिव जीतबहादुर जीसीले इन्सेकको वर्ष पुस्तकमा प्रकाशित हुने घटनाहरु परीक्षण गर्ने पद्धति राम्रो भएको बताउदै आएका सुझाव अनुसार सुधार गर्दै लिन सुझाव दिनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म संकलित ५९ वटा मध्ये सबैभन्दा धेरै घरेलु हिंसा १६ वटा रहेको जानकारी दिए । त्यसैगरी बलात्कार १२ र बहुविवाह घटना १२ घटना अभिलेखीकरण गरिएको जानकारी दिएको छ ।

बलात्कार घटना १२ मध्ये १० जना १८ वर्ष मुनिका बालिका १० जना रहेको उल्लेख छ । त्यसैगरी बालबालिकाहरु ६ जोडीले बालविवाह गरेको इन्सेकको अभिलेखीकरण गरेको जनाइएको छ ।

जनवरी यता छ महिना अवधिमा अभद्र व्यवहार छ वटा, व्यक्ति हत्या दुई, मानव बेचबिखनका दुई, यौनदुव्यवहारका दुई र कथित बोक्सी आरोप लगाएको एक घटना अभिलेखीकरण गरिएको इन्सेक जिल्ला प्रतिनिधि सुनारले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया