बनगाडका किसानलाई बाख्रा वितरण

बनगाडका किसानलाई बाख्रा वितरण

सल्यान-  जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले किसानलाई बाख्रा वितरण गरिएको छ । ४ वटा समूहका एक सय किसानलाई स्थानीय जातका २ सय बाख्रा २० वटा बोका र ३६ वटा खोरहरू लागत साझेदारीमा वितरण गरिएको हो। किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/०८० कार्यक्रम मार्फत किसानलाई बाख्रा वितरण गरिएको छ ।

बनगाड कुपिण्डे नगरपालिका पशु सेवा शाखा कार्यालय देवस्थल सल्यानको ६० लाख र कृषकको ५० प्रतिशत लागत साझेदारीमा बाख्रा, बोका खोर वितरण गरिएको हो ।

प्राकृतिक बाख्रा पालन कृषक समूह वडा न ३ खानी गाउँ, आयआर्जन बाख्रा पालन कृषक समूह वडा न ४ गर्चे, महिला बाख्रा पालन कृषक समूह वडा न ८ कौछे र पाचहारे बाख्रा पालन समूह वडा न ११ पाचहारेमा बाख्रा पकेट क्षेत्र बनाएर बाख्रा बोका वितरण गरिएको पशु सेवा शाखा प्रमुख विना राम बुढाथोकीले बताउनुभयो ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बाख्रा पालनका लागि भूगोल र हावापानी उपयुक्त ठाउँलाई नगरपालिकाले पकेट क्षेत्र घोषण गरी बाख्रा पालन व्यवसाय सुरु गरिएको बताउनुभयो । अनुदानमा दिइएका बाख्राबाट किसानको जीवन स्तर माथि उठाउन टेवा पुग्ने यहाँको भनाई छ । बाख्रा पालन सजिलो पेसा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नुभयो ।

बनगाड कुपिण्डे नगरपालिका धेरै वडाहरूमा बाख्रा पालनका लागि उपयुक्त वातावरण भएको बताउँदै उहाँले व्यावसायिक रुपमा बाख्रा पालन अघि बढाउन किसानलाई आग्रह गर्नु भयो । किसानलाई उत्पादनमूलक कार्यमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको भनाई छ ।

नगर उप प्रमुख पुरुषोत्तम आचार्य बाख्रा पकेट क्षेत्रमा साझेदारी अनुदान नियमित र लक्ष्य अनुसार समूहमा काम गर्न अनुरोध गर्नुभएको छ । पकेट क्षेत्रमा एक हजार बाख्रा पुर्याउन लाग्न अनुरोध गर्नु भएको छ । अनुदानले तपाईँहरूलाई सहयोग गरेको छ त्यसमा हजुरहरूको मेहनतले आय आर्जनलाई थप मद्दत पुग्ने बताउनु भएको छ । यसरी मेहनत गर्दै गएमा घरको दैनिक चलाउन समेत सहज हुने समेत उहाँको भनाई रहेको छ ।-सल्यानखबर

प्रतिक्रिया