सरिकोट स्वास्थ्य चौकी पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

सरिकोट स्वास्थ्य चौकी पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

सल्यान-  सल्यानको त्रिवेणी गाउँपालिका ४ मा रहेको सरिकोट स्वास्थ्य चौकीलाई जिल्लामै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । सबै मापदण्ड र सूचकहरू पुरा गरेकोले शुक्रवार एक कार्यक्रमका बिच पोषणमैत्री स्वास्थ्य चौकी घोषणा र पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले त्रिवेणीका ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

स्वास्थ्य चौकी इन्चार्जहरूले नियमित रूपमा सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनुभयो ।

घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र आम जनताको सक्रियतामा पोषण मैत्री स्वास्थ्य चौकी, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन सफल भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसलाई घोषणासँगै दिगोपनाका लागि ध्यान दिन जरुरी रहेको भनाइ उहाँको छ । स्वास्थ्य क्षेत्रका कार्यक्रमहरू पालिकाले गर्दै आएको समेत उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा नियमित बच्चाको वृद्धि अनुगमन गरेको, आइरन चक्की खाएका महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएको, स्वास्थ्य संस्थामा सुत्केरी हुने पोषण रजिस्टरमा पोषण सम्बन्धी सबै सूचना रेकर्ड राखिएको, पूर्ण स्तनपान गराउने, पोषण सम्बन्धी औषधि र सामाग्री पूर्ण रहेको, जुकाको औषधि खाएको, कुपोषित बालबालिका नरहेको, ६ महिनापछि दूध सहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिश्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत जुकाको औषधि खाएको, स्वास्थ्य संस्थामा पोषण कर्नर र आम र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्याङ्क चुस्त दुरुस्त राखिएको जस्ता सूचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

यसै गरी, कार्यक्रममा पोषणमैत्री स्वास्थ्य चौकी तथा पूर्ण खोप सुनिश्चितता वडा घोषणा सहयोग गरेको भन्दै सरिकोट स्वास्थ्य चौकी इन्चार्ज बलिभान विष्ट, छत्रेश्वरी गा।पा। ५ निवासी प्रकाश नेपाली लगायत ४ जना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

साथै, आ.व. २०७९/०८० मा पोषणका सबै सूचकहरू पुरा गरी उत्कृष्ट स्वस्थ बालक छनौट हुने ४ जना बालबालिकालाई नगद रु पाँच हजार सहित सम्मान गरिएको छ । -सल्यानखबर

प्रतिक्रिया