रुकुममा चैते धानको परीक्षण सफल

रुकुममा चैते धानको परीक्षण सफल

रुकुम पश्चिम-  रुकुम पश्चिममा चैते धानको परीक्षण सफल भएको छ । कृषि विकास कार्यालयले जिल्लाका दुई ठाउँमा गरेको चैते धानको परीक्षण सफल भएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ४ को सोलावाङ र वडा नम्बर १३ को काउलेचौरमा परीक्षणका रुपमा धान खेती गरेकामा उक्त परीक्षण सफल भएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले बताउनुभयो ।

दुवै ठाउँमा धानले उत्पादन दिएपछि परीक्षण सफल भएको उहाँको भनाई छ । ‘जिल्लामा यसअघि कृषकले थोरै मात्रामा आफुखुसी चैते धान रोप्ने गरेका थिए, हामीले पहिलो पटक जिल्लामा चैते धानको परीक्षण गर्यौं, उहाँले भन्नुभयो–चैत्रमा रोपिएको धानमा दाना लागेपछि परीक्षण सफल भएको हो, अव उक्त धान काट्ने अवस्थामा छ ।’

उहाँका अनुसार सोलावाङमा स्थानीय दिपेश खड्काको खेतमा ६ रोपनी क्षेत्रफलमा हर्दिनाथ–१ जातको धान रोपिएको थियो भने काउलेचौरमा स्थानीय रोशन खड्काको २ रोपनी क्षेत्रफलमा हर्दिनाथ–१ जातकै धान रोपिएको थियो ।

जिल्लामा चैते धानको सम्भावना कस्तो छ भनेर गत चैत्रमा धान रोपिएकामा दुवै ठाउँमा परीक्षण सफल भएको कृषि विकास कार्यालयका सूचना अधिकारी प्राविधिक सहायक महेशकुमार बिष्टले बताउनुभयो । चिसोका कारण जिल्लामा परीक्षण सफल नहुने हो की भन्ने आशंका रहेको भएपनि परीक्षण सफल भएको उहाँको भनाई छ । उहाँका अनुसार अव जिल्लामा व्यवसायिक रुपमा चैते धानको खेती विस्तार गरिने छ ।

अर्को वर्ष कृषकलाई चैते धानको बीउ वितरणको कार्यक्रम राखिएको कृषि विकास कार्यालयले जनाएको छ । अव जिल्लामा दुई बाली धान खेती तथा एक बाली गहुँ खेती गरी समग्रमा वर्षमा तीन बाली खेती हुने भएको छ । यसबाट जिल्लामा खाद्य उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । साथै बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने निमित्त कार्यालय प्रमुख केसीले बताउनुभयो ।

त्यस्तै सिम जग्गामा गहुँ खेती नहुने भएकोले एक बाली बाँझै रहने सिम खेतमा समेत अव चैते धान खेती गर्न सकिने भएकोले त्यस्ता जग्गाको समेत प्रयोग हुने उहाँको भनाई छ ।

जिल्लाका मुसिकोट नगरपालिकाको मुग्लु खोला, चौरजहारी नगरपालिकाको जहारी खोला, बाँफिकोट गाउँपालिकाका छिनखेत, पिपल लगायतका तल्लो भेगमा चैते धानको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा माघको २०–२२ तिर ब्याड राख्ने र फागुनको अन्तिम तिर रोपाई गरेमा चैते धानले राम्रो उत्पादन दिने देखिएको कार्यालयको भनाई छ । -कखरा

प्रतिक्रिया