कर्णाली प्रदेशभर हालसम्म ६५ प्रतिशत भू-भागमा रोपाइँ

कर्णाली प्रदेशभर हालसम्म ६५ प्रतिशत भू-भागमा रोपाइँ

सुर्खेत –  कर्णाली प्रदेशभर हालसम्म ६५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। कर्णालीमा कुल ४८ हजार एक सय ३३ हेक्टर बढी जग्गामा धान रोपाइँ हुन्छ। जसमा ३१ हजार दुई सय ८६ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। असार १५ गतेसम्ममा कर्णालीमा ३९.२५ प्रतिशत धान रोपाइँ भएको थियो।

जिल्लागत तथ्यांक हेर्ने हो भने जुम्लामा धान रोपेर सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयको कृषि विकास निर्देशनालयकाअनुसार जुम्ला जिल्लामा चैत महिनामै धान रोप्ने भएकाले धान खेती हुने दुई हजार नौ सय ५० हेक्टर जमिनमा रोपाइँ सकिएको हो।

यस्तै, दुई हजार सात सय १७ हेक्टर रहेको कालीकोट, आठ सय ९१ हेक्टर रहेको मुगु, दुई सय ४८ हेक्टर रहेको डोल्पा र एक हजार एक सय ५५ हेक्टर जमिन रहेको हुम्लामा गरी जम्मा ९० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय, सुर्खेतका वाली विकास अधिकृत यामबहादुर रानाले बताउनुभयो ।

उहाँका अनुसार दुई हजार दुई सय ८६ हेक्टर जमिन रहेको रुकुमपश्चिममा र पाँच हजार दुई सय ९२ हेक्टर जमिन रहेको सल्यानमा ७५ प्रतिशत, दुई हजार एक सय ४५ हेक्टर जमिन रहेको जाजरकोटमा ७० प्रतिशत, चार हजार ६ सय ८१ हेक्टर रहेको दैलेखमा ५५ प्रतिशत र सुर्खेतमा ५० प्रतिशत अर्थात सात हजार ६ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ।

कृषि मन्त्रालयकाअनुसार कर्णालीमा २५ लाख २५ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन मध्ये दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ। ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्षभरी सिँचाइ सुविधा रहेको छ।

यस्तै, ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिँचाइ सुविधा उपलब्ध रहको छ भने अन्य बाँकी जमिनमा आकाशे पानीको भर पर्नुपर्दछ।

यसअघि कर्णालीले आर्थिक वर्ष २०७७/०७८ मा धान उत्पादनमा वृद्धि गरेको थियो। २०७६/०७७ को तुलनामा २०७७/०७८ मा ५.५ प्रतिशतले धान उत्पादन वृद्धि भएको हो । २०७७/०७८ मा कर्णालीमा एक लाख २० हजार नौं सय ७१ मेट्रिकटन धान उत्पादन भएको कृषि विकास निर्देशनालयको तथ्यांक छ। उक्त समयमा वर्षात समयमै भएकाले उत्पादन वृद्धि भएको थियो।

तर, नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन, २०७९ का अनुसार आर्थिक वर्ष २०७८र०७९ को तुलनामा २०७९/८० मा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढे पनि प्रमुख वालीमध्ये धान खेतीले ढाकेको क्षेत्रफल भने घटेको छ।

गत आर्थिक वर्ष २०७८/०७९ को पुष महिनाको तुलनामा २०७९/०८० को सोहि अवधिमा कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव तीन प्रतिशतले बढेको थियो। तर, सोही अनुपातमा धान बालीले ढाकेको क्षेत्रफल भने घटेको देखिन्छ। धान वालीले ढाकेको क्षेत्रफल १.१८ प्रतिशतले घटेको छ। बाह्रै महिना सिँचाइको सुविधा नहुँदा कर्णालीमा धान उत्पादन घटेको हो।

 

प्रतिक्रिया