बाख्रा पालनमा रमाउँदै मगर दिदीबहिनी

बाख्रा पालनमा रमाउँदै मगर दिदीबहिनी

सल्यान-   गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ । गाउँ रित्तिएको छ । गाउँमा सम्भावना छैन । गाउँमा केही गर्ने वातावरण छैन । धेरै जना यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन । विभिन्न पेसा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ पानीखोलाका दुई दिदीबहिनी (देवरानी जेठानी) ले व्यावसायिक बाख्रा पालनबाट मनग्य आम्दानी गर्दै आइरहनु भएको छ । विगत ५ वर्षदेखि व्यावसायिक बाख्रा पालन गर्दै आउनु भएकी आशा बुढामगर र दीपा मगरले वार्षिक ५ लाख बढी आम्दानी गर्दै आउनु भएको छ । नवीन बाख्रा पालन फर्म दर्ता गर्नु भएका उहाँहरूसँग अहिले ६५ बाख्रा र २० खसी बोका रहेका छन् ।

बाख्रा पालन व्यवसायलाई व्यवस्थित व्यावसायिक बनाउँदै लगेपछि आर्थिक रुपमा सबल बनेको आशा बुढामगरको भनाई छ । पछिल्लो समय बाख्रा नै आम्दानीको मुख्य स्रोत भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘महिलाले घर भित्रको मात्र काम गर्नु पर्छ भन्ने छैन । आर्थिक रुपमा लाभ लिन सकिने काम पनि गर्न सक्छन् भन्ने समाजमा उदाहरण देखाउन दिदीबहिनी मिलेर बाख्रा पालन गरेका हौँ ।’

आर्थिक उर्पाजनसित जोडिँदै आत्मनिर्भर हुन सकिन्छ भनेर व्यावसायिक बाख्रा पालनमा लागेको दीपा मगरको भनाई छ । उहाँले भन्नु भयो ‘आफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमानसँग मात्र आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्न दिदीबहिनी मिलेर बाख्रा पालनमा जुटेका हौँ ।’

गाउँ नजिकै वनजंगल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रा पालनलाई व्यावसायिक रुपमा अघि बढाउन सहज भएको उहाँले बताउनु भयो । सुरुवाती चरणमा थोरै सङ्ख्याबाट व्यवसाय थाले पनि आम्दानी राम्रो हुन थालेपछि बाख्राको सख्ंया बढाउँदै लगेको आशाको भनाई छ । हालसम्म ३० लाख बराबरको लगानी लागेको उहाँको भनाई छ ।

समाजमा उदाहरणीय कार्य गरेको भन्दै पछिल्लो समय उहाँहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी संघसस्ंथाहरुले सम्मान समेत गर्दै आइरहेका छन् । पछिल्लो समय मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले सम्मान समेत गरेको छ । दुवै दिदीबहिनीका श्रीमानले जिल्लामा नै गाडी चलाउँदै आइरहनु भएको छ । -सल्यानखबर

 

प्रतिक्रिया