मेची-महाकाली यात्रा टोली सल्यानमा

मेची-महाकाली यात्रा टोली सल्यानमा

सल्यान -    वन तथा वातावरण संरक्षणका लागि भन्दै गन्धर्व समुदायका कलाकारहरुले सारंगी संगीतको मेची(महाकाली यात्रा जारी राखेका छन्। बाँकेको कोहलपुर(११ का कलाकारहरु सारंगी र मादलको मिठो धुनसँगै वन जोगाउने सन्देश दिँदै सल्यान आइपुगेका छन् ।

नेपाल कला संगीत मञ्चमा आबद्ध ६० वर्षीय प्रेमबहादुर गन्धर्व, ५५ वर्षका दिलबहादुर गन्धर्व, शेरबहादुर गन्धर्व र ५१ वर्षीय भीमबहादुर नेपालीले मेची(महाकाली यात्रा अन्तर्गत विभिन्न जिल्लामा ‘रुख रोपौँ, वन जोगाउँ’ भन्ने सन्देशसहित मौलिक रुपमा सारंगी संगीतसहितको प्रस्तुति दिइरहेका छन्।

२०७९ सालबाट कर्णाली प्रदेशको सुर्खेतबाट यात्रा सुरु गरेको गन्धर्व समुदायका कलाकारहरुको समूहले अहिलेसम्म दैलेख, मुगु, हुम्ला, कालिकोट, अछाम, डोल्पा, रुकुम, प्युठान, सल्यानसहित २२ वटा जिल्लामा वन तथा वातावरणसम्बन्धी सन्देशमूलक र चेतनामूलक गीत गाउँदै प्रस्तुति दिएको प्रेमबहादुर गन्धर्वले बताउनुभयोे ।

सबैलाई मोहित बनाउने सारंगीको धुनसँगै गन्धर्व जातिले मनोरञ्जनका माध्यमबाट नागरिकलाई सूचना दिने चलन पछिल्लो समय हराउँदै गएको छ। नेपालको मौलिक बाजा सारंगीको जगेर्नासँगै वन जोगाउने अभियानलाई समेत अघि बढाउन संगीत यात्रामा निरन्तर लागि परेको दिलबहादुर गन्धर्वले बताउनुभयो ।

भाषणको माध्यमबाट व्यक्त गरिएको सन्देशभन्दा गीत संगीतको माध्यमबाट दिइएको सन्देश सबैले सजिलोसँग बुझ्ने र प्रभावकारी हुने भएकाले पनि आफूहरु यो अभियानमा लागेको सारंगी गन्धर्वको भनाई छ। विशेष गरेर सन्देशमूलक र चेतनामूलक गीत गाउने उनीहरुले दर्शक श्रोताको चाहनाअनुसार गीत गाएर मनोरञ्जन दिने गर्छन्।

गन्धर्व समुदायका कलाकारले सुरुवात गरेको अभियानले वन जन्तु तथा प्राकृतिक सम्पदा संरक्षणमा टेवा पुर्‍याउने कपुरकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

उहाँले  गाउँपालिकाले कपुरकोट जागरण अभियान चलाएको जनाउँदै जागरण अभियान अन्तर्गतको कार्यक्रममार्फत सारंगी सर्जकहरुसँग सहकार्य गरिने बताउनुभयो । सल्यानखबर

प्रतिक्रिया