गत आर्थिक वर्षमा सल्यानबाट ७० करोडको खसीबोका निकासी

गत आर्थिक वर्षमा सल्यानबाट ७० करोडको खसीबोका निकासी

सल्यान -   गत आर्थिक वर्षमा सल्यानबाट ७०  करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट ७०  करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको पशु अस्पताल तथा  पशुसेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भएपनि २ वटा स्थानिय तहको डाटा आई नपुगेकाले ७० करोडको खसी बोका निकासी भएको अनुमान गरिएको हो । गत आर्थिक बर्ष  २०७८/०७९ मा जिल्लाबाट ५३ करोड भन्दा बढीको खसीबोका जिल्ला बाहिर निकासी भएकोमा यस बर्ष झन्डै १७ करोड बढी निकासी भएको  पशु अस्पताल तथा  पशुसेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द महतले बताउनुभयो ।

सल्यान वाख्रा पालनका लागि निकै संभावना भएको र उपयुक्त ठाउ मानिन्छ । यहाँका किसानहरुको घर घरमा वाख्रा पालन गर्ने गरेका छन् । यस जिल्लामा ४ लाख भन्दा बढी संख्यामा बाख्रा पालन हुदै आइरहेको उहाँले बताउनुभयो । बाख्रापालनलाई बढवा दिन प्रदेश सरकार र स्थानिय तहले एक पालिका एक पशु बस्तु कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको महतले बताउनुभयो । जिल्लामा व्यवसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढी रहेको छ । प्रत्येक घरले सामान्य तह ३ देखि ५ ओटासम्म बाख्रा पालन गर्दै आइरहेको प्रमुख महतको भनाई रहेको छ ।

ब्यवसायिक वाख्रा पालनका लागि कृषकहरुलाई आर्कषित गर्न गतवर्षसम्म पसु सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । बाख्रापालन प्रवद्र्धनका लागि बाखा्र वितरण, उन्नत जातका बोका खरिद खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएका पशु अस्पताल तथा  पशुसेवा कार्यालयका सुचना अधिकारी बिरेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साना किसान र व्यवसायिक किसानलाई वर्गिकृत गरी खोर सुधार अनुदान, वजारिकरणका लागि संकलन सहजिकरण , संक्रामक रोग विरुद्ध निशुल्क खोप सेवा लगाएत  प्राविधिक सहयोग गर्ने गरेकोे बताउनुभयो  । जिल्लालाई वाख्रा पालनमा उदाहरणीय वनाऊन प्रदेश र स्थानिय तहको समन्वयमा पशु सेवा कार्यलयले विभिन्न कार्यक्रम सञ्चालन हुदै आइरहेको बताउनुभयो ।

सल्यानको खसी बोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरुमा बढि माग हुने गर्दछ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरुले बढि मुल्य हाल्ने गरेको पाईएको छ ।

जंगलमा घाँससँग सँगै जडिबुटिहरु पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीहरुले सल्यानको खसीबोका भनेपति अन्य जिल्लाको तुलनामा बढि मुल्य हाल्न कुनै कन्जुस्याई गर्दैनन् । जिल्लाबाट कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गरेको सुचना अधिकारी केसीले बताउनुभयो । -सल्यानखबर

प्रतिक्रिया