राप्ती राजमार्गको काम पुरा हुन्छ : मन्त्री ज्वाला

राप्ती राजमार्गको काम पुरा हुन्छ : मन्त्री ज्वाला

सल्यान  –   भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अवको चार बर्षमा दुई लेनको राप्ती राजमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । उहाँले राप्ती राजमार्ग अन्र्तगत दाङ–सल्यान–रुकुम सडकको स्तरोन्नतिको काममा ढिलासुस्ती हुदा नागरिकले सास्ती भोग्दै आएकाले अवको चार बर्षमा राजमार्ग स्तरोन्नति, कालोपत्र सहित दुई लेनको निर्माण सम्पन्न हुने बताउनुभएको हो । नेपाल पत्रकार महासंघ सल्यानले विहीबार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।

‘राप्ती राजमार्गको स्तरोन्नति सहित दुई लेन बनाउनको लागि यसपटक धेरै वजेट विनियोजन भएको छ, बहुवर्षिय आयोजना मार्फत काम गर्नका लागि यसबर्ष ९० करोड रुपैँया छुट्याएका छौँ’ उहाँले भन्नुभयो ‘अवको चारबर्षसम्म काम सम्पन्न गर्ने गरी ३ अर्व ६० करोड रुपैँया सुनिश्चित भैसकेको छ ।’ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोश्रो पटक गृह जिल्ला आउनु भएका मन्त्री ज्वालाले राप्ती राजमार्गको सुधारको केही काम भएको र आफ्नैकार्यकालमा यस राजमार्गको स्तरवृद्धिको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आफुहरुले गरेको कामको नतिजा देखिन थालेको उहाँको भनाइ छ । मन्त्री ज्वालाले एक बर्षिय साना योजनाको टेण्डर भैसकेको र बहुबर्षिय योजनाको पनि तत्कालै टेण्डरको काम शुरु गरिने बताउनुभयो । राप्ती राजमार्गसँगै मदन भण्डारी राजमार्गको पाथिहाल्दा–थारमारे–श्रीनगर–खलंगा–बालुसंग्रही खण्ड, लुम्बिनी रारा राजमार्गको तुलसीपुर–लुहाम–थारमारे–चौरजहारी खण्ड, अन्तरप्रदेश जाड्ने खलंगा–कालिमाटी–घुइयावारी–कोहलपुर सडकलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

‘राप्ती राजमार्गको स्तरोन्नतिका सन्दर्भमा हामीले तीन चरणमा काम गर्छौ, अहिले सडक मर्मत सहित सहज आवतजावतको व्यवस्था गरेका छौँ, सडक मर्मतका ५ वटा ठेक्का सम्पन्न भएका छन्, केहीको काम जारी छ, काम नगर्नेको ठेक्का रद्ध गरेका छौँ, बहुबर्षिय आयोजना मार्फत दुई लेनको काम अघि बढेपनि निश्चित बजेट विनियोजन गरेर मर्मतसम्भार गरिरहन्छौँ’ उहाँले भन्नुभयो ‘पहिलेको सडकभन्दा ७० प्रतिशत सुधार भएको छ ।’

मन्त्री ज्वालाले तत्काल सडक ऐन ल्याउने र सडक वर्गिकरण गरिने बताउनुभयो । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेट सम्मको सकडकोे काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उहाँको भनाइ छ । विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका बेतिथि हटाउन केही काम अघि बढाइएको उहाँको दावी छ । ‘अहिले पनि सवारी चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन्, यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ’ उहाँले भन्नुभयो ।

ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स हात पर्नेगरी काम बघि बढाइने ज्वालाको दाबी छ । यातायात क्षेत्रमा विचौलियाको विगविगी अन्त्य गर्न अनलाईन प्रणाली सुरु गरिसकेको भन्दै उहाँले एक महिनाभित्र देशैभरी अनलाईन प्रणाली कार्यान्वयनमा आउने बताउनुभयो । सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुंगो लागिसकेको मन्त्री ज्वालाको भनाइ छ ।

फरक प्रसंगमा मन्त्री ज्वालाले अहिलेको सरकार फेरबदल नहुने बताउनुभएको छ । ‘भ्रष्टाचार, सुशासन र पारदर्शिताका क्षेत्रमा सरकारले राम्रो काम गरेको छ, जनमत पार्टी सरकारमा जोडिएको छ, अन्यपार्टी पनि सरकारमा जोडिने क्रम जारी छ, यसले सरकारमा कुनै समस्या आउँदैन्, गठबन्धन थप बलियो भएको छ’ उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य उदय बहादुर वोहरा लगाएतको पनि सहभागिता थियो । नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।-सल्यानटुडे

प्रतिक्रिया