दार्मामा २४१ अस्थायी आवास निर्माण

दार्मामा २४१ अस्थायी आवास निर्माण

सल्यान –   चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म २४१ अस्थायी आवास निर्माण भएका छन्। विभिन्न राजनीतिक दल, स्थानीय र संघ संस्थाले स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन्।

माओवादी केन्द्रले ६७ अस्थायी टहरा र ४८ भग्नावशेष, नेकपाले २४ अस्थायी आवास र २३ भग्नावशेष हटाएका छन् भने स्थानीय स्वयंले १५० टहरा निर्माण गरेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार विभिन्न राजनीतिक दल र संघ संस्थाबाट खटिएका स्वयंसेवकले १५ दिन भूकम्प पीडितको घरको भग्नावशेष हटाउने, अस्थायी टहरा निर्माणमा जुटेर फिर्ता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भूकम्पको पीडामा सहयोग गर्न कालिकोट लगायत बाह्य जिल्ला र सल्यानका विभिन्न पालिकाबाट जुन सहयोग भयो त्यसको हामी सधैँ ऋणी रहनेछौं।’

पालिकामा ४ सय स्वयंसेवक परिचालन गर्ने भए पनि माओवादी केन्द्रका १८० र नेकपाका ४५ मात्र स्वयंसेवक परिचालन भएको र अन्यको रेकर्डमा नभएको केसीले बताउनुभयो ।

अस्थायी घर टहरा निर्माणका लागि पहिलो किस्ताबापतको २५ हजार पीडित सबैले लगिसकेको र जनशक्तिको अभावका कारण जुन गतिमा कार्य अघि बढ्नुपर्नेमा केही कमी देखिएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताउनुभयो । स्थानीय जनशक्तिको अभाव भएपछि जिल्लाका विभिन्न स्थानबाट पुनः स्वयंसेवक आउने तयारी भइरहेको उहाँको भनाइ छ।

दार्मामा भूकम्पबाट १ हजार १७९ परिवार विस्थापित भएका थिए। तीमध्ये दुई सय अस्थायी टहरा, एक सय टेन्टमा र एक सय बढी सामान्य मर्मत गरेका घरमा बस्दै आइरहेका छन् भने ५ सय परिवार त्रिपालमुनि बस्दै आइरहेका छन्।

प्रतिक्रिया