पहिलोपटक बैङ्कमा खाता खोल्दै राउटे समुदाय

पहिलोपटक बैङ्कमा खाता खोल्दै राउटे समुदाय

काठमाडौँ -  दक्षिण एसियाको लगभग अन्तिम घुमन्ते जाति मध्ये एक हो राउटे समुदाय । राउटे समुदाय पछिल्लो समय नागरिकको घुलमिल बढ्दै गएपछि अहिले उनीहरू अन्य नागरिकसरह व्यवहार गर्न थालेका छन ।

 पहिला जङ्गलमा पाइने कन्दमूल, गिठ्ठा खाने र काठबाट निर्माण गरेका सामग्री अन्नसँग साटेर खाने यो समुदाय पछिल्लो समय आमनागरिकजस्तै बजारबाट सामान किनेर खाने गरेका छन । कुनै समय ‘पैसा छोए पाप लाग्छ’ भने मान्यता राख्ने राउटे समुदायले इतिहासमै पहिलोपटक बैङ्कमा खाता खोल्ने भएका छन् । चामुण्डावीन्द्रासैनी नगरपालिका वडा नम्बर -६ लामादुवालामा बसेका राउटे समुदायले बैङ्क खाता खेल्न सहमत भएका हुन् । 

राउटे समुदायका १३७ जना मध्य हाल १०७ जनाको खाता खोल्नको लागि औँठा छाप र फोटा दिएको ३० जनाको खाता खोल्न बाँकी रहेको सोसेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्रीले जानकारी दिनुभयो । अनुसार चैत्र १ गतेदेखि ४ गतेसम्म राउटे समुदायको चाड परेकाले अन्य राउटेले आफ्नो परम्पराले गर्दा फोटो खिच्न नमानेको उहाँ बताउँनुहुन्छ ।

जोडि शिक्षक खत्रीका अनुसार अब ३० जनाको खाता खोल्न बाँकी रहेको र बाँकी ३० जनाको विवरण लिएर बैङ्कमा बुझाउने र त्यसपछि खाता खोल्ने बताउनुभयो । 
सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राउटे समुदायका प्रत्येक नागरिकको बैङ्क खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरू खाता खोल्न सहमत भएको बताइएको छ । 

सरकारले दिने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैङ्कमा खाता खोलेपनि सुरक्षा भत्ता बस्तीमै आएर वितरण गर्ने भनेपछि आफूहरू खाता खोल्न तयार भएको राउटे मुखिया सुर्य नारायण शाही बताउनुहुन्छ । बैङ्क र पालिकाका कर्मचारी आउँदा बैङ्कमा खाता खोले पनि हामीलाई बस्तिमै सुरक्षा भत्ता बितरण गर्न भनेका छौँ',उहाँले भन्नुभयो, 'समुदायका नागरिक पढ्न, लेख्न नजान्ने र बैङ्कमा गएर चेक काट्न नसक्ने भएकाले बस्तीमै आएर भत्ता वितरण गर्न बैङ्क र गाउँपालिकाले मानेपछि आफूहरू खाता खोल्न राजी तयार भएका हौँ ।' 

बैङ्क खाता संचालनका लागि कागजात संकलन गर्दै कर्मचारी तस्बिर :लालबहादुर खत्री 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि–२०७७ बमोजिम राउटे समुदायका नागरिकको सामाजिक सुरक्षा भत्ता बैङ्कमै जम्मा गर्ने उद्देश्यले उहाँहरूको खाता खोलिएको गुराँस गाउँपालिका दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको फोटोसहित मूल अभिलेखमा राखेपछि त्यसैका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट रकम निकासा गर्नुपर्ने हुन्छ', उहाँले भन्नुभयो, 'राउटे समुदायको समेत अभिलेख राखिए पनि बैङ्क खाता नहुँदा समस्या भएपछि उहाँहरूलाई बैङ्क खाता खोल्ने र खातामा रकम जम्मा गर्ने, पछि सम्बन्धित वडा कार्यालयको सहयोगमा वितरण हुन्छ  ।'

राउटे समुदाय गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा भएदेखि गुराँस गाउँपालिका–८ वडा कार्यालयले राउटे समुदाय जहाँ पुग्यो, त्यहीँ गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको भए पनि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि अनुसार नहुँदा समस्या भएकाले गाउँपालिकाको सहरजीकरणमा प्रभु बैङ्कद्धारा बस्तीमै पुगेर खाता खोलिएको दाहालको भनाई छ ।

राउटे समुदायले खाता खोले पनि बस्तीमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति भए पनि बिस्तारै राउटे समुदायलाई नै आफ्नो खाताबाट आफैँ रकम निकाल्न सक्षम हुने विश्वास लिएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले बताउनुभयो । राउटे समुदायलाई नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा एक पटक सबै रकम दिनुपर्ने हुन्छ', उहाँले भन्नुभयो, 'जस्ले गर्दा उहाँहरूले एक दुई दिनमै सबै रकम सक्ने समस्यालाई समेत ख्याल गरिएको छ ।'

गुराँस गाउँपालिकाले २०७५ सालमा गुराँस गाउँपालिका–८ गर्चामा बसेको बेला कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र जिल्ला प्रशासन कार्यालयको रोहबरमा १४९ जनालाई गाउँपालिकाले स्थायी परिचयपत्र वितरण गरेको थियो । अहिले राउटे समुदायको जनसङ्ख्या घटेर १३७ पुगेको छ ।
 

प्रतिक्रिया