सामाजिक चेतना उठाउने काममा बेवास्ता

सामाजिक चेतना उठाउने काममा बेवास्ता
सुन्नुहोस्

दैलेख – स्थानीय तहहरुले सामाजिक चेतना स्तर उठाउने क्षेत्रमा काममा वेवास्ता गरेका कारण समाजमा अपराध बढेको दुल्लूका स्थानीयले बताएका छन् । सोसेक नेपालको सहकार्यमा जिल्ला प्रशासन कार्यालय दैलेखले दुल्लूमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो सवाल उठेको हो । 

महिला माथि हुने घरेलु हिंसा, छाउपडी प्रथा, बहुविवाह, बलात्कार, बालबालिका माथि भएका दुव्र्यवहार, लागू औषध दुव्र्यवसनी, जातीय विभेद लगायतका सामाजिक समस्या विषयमा भएको अन्तरक्रिया कार्यक्रममा यस्ता कार्यक्रम समुदायस्तरसम्म पठाइनुपर्ने आवाज उठेको थियो । 

कार्यक्रममा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्कीले महिलाहरुको क्षमतालाई कम आकलन गर्ने प्रचलनले महिला जनप्रतिनिधिहरु समेत विभेद र बेवास्तामा परेको दुखेसो प्रकट गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले भौतिक विकाससंग चेतनास्तर उठाउने सचेतनाका कार्यक्रमहरु उत्तिकै जरुरी रहेको औल्याउनुभयो । 

कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले सामाजिक सवालहरु समाधानको निम्ति स्थानीय सरकारले तत्परता जरुरी रहेको बताउनुभयो । अधिकारकर्मी पत्रकार अमर सुनारले दण्डहीनताको अन्त्य गर्न समुदाय स्तरसम्म सचेतना आवश्यक रहेको बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा दुल्लू नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, अधिकारकर्मीहरु समेतको सहभागिता रहेको थियो । समाजमा विद्यमान कुरीति, कुसंस्कार, भेदभाव, असमानता समस्या समाधानका उपाय बारे सहभागीहरुले सुझाव राखेका थिए । 

प्रतिक्रिया