“बा” को सम्झनामा दुई शब्द

“बा” को सम्झनामा दुई शब्द

आमा बाबु जिउँदो भगवान भनेर सबैले सम्मान गर्छन् । तर म भने त्यस्तो छोरा, जसले कलिलै उमेरमा आफ्ना जिउँदो भगवान (बुबा) लाई गुमाएँ, र तिनै भगवान बाको मृत शरीर दर्शन गर्ने अवसर पनि प्राप्त गरिन । 
मेरो बुबा भारतको नडियाद भन्ने ठाउँस्थित एक प्रतिष्ठित होटलको म्यानेजर पदमा काम गर्नुहुन्थ्यो । उहाँ हरेक वर्ष घर आउने, हामी साना नाबालकलाई खर्चको व्यवस्था मिलाउने र फेरि आफ्नो काममा फर्किने गर्नुहुन्थ्यो । त्यसबेला हाम्रो बाल्यकाल अरूको भन्दा सहज र सुखद रूपमा बितिरहेको थियो। हामीलाई न कुनै अभाव थियो, न त सामान्य खर्चका लागि ऋण लिनुपर्ने अवस्था थियो । 
२०५८ सालमा बुबाको काम गर्ने होटलको सञ्चालकले आफनो व्यवसायलाई लण्डनमा विस्तारमा गर्ने योजना बनाए छन् । रोजगारीका लागि तेस्रो मुलुक जाने सम्भावना बढेपछि राहदानी बनाउन र गाउँघर भेट गर्न उहाँ घर आउनु भयो । सायद उहाँको सोच होला बाहिरको मुलुक गएपछि चाहेको बेला घरभेटघाट गर्न पनि आउन नसिकने हुन्छ । साना केटाकेटी भएकाले आमाको सहराका लागि दाइको विहे गराइदिनुभयो । सदरमुकाम पुगेर राहदानी बनाउनु भयो । त्यो समयमा विदेश जाने चलन प्रायः थिएन, छिमेकी मुलुक बाहेक अन्यत्र यात्रा गर्नु अझ लण्डनको शहर कल्पनाभन्दा बाहिरको कुरा थियो। कर्णालीको एउटा दुर्गम गाउँको सामान्य परिवारमा हुर्केको एउटा युवाले रोजगारीका लागि अर्को मुलुक जानु असाधारण कुरा मानिन्थ्यो।
त्यतिबेला म वर्ष ७ को थिए । आमा ३८, जेठो दाई १७, माईलो १५ र कान्छो ३ वर्षको मात्रै थियो । घरमा लालावाला परिवार । त्यो विदेशिनु उहाँको रहर नभएर बाध्याता थियो । धेरै ठुला सपना, घरपरिवारको चिन्ता, गाउँको सम्झना गर्दै केही समय पछि फर्किने योजना सहित घरबाट विदा हुनुभयो ।  


एकदिन विहानै घरमा मान्छे जम्मा भए । कोही घरभित्र कोही घर बाहिर गर्छन् । कोही आमालाई सम्झाउछन् । कसैले एकआपसमा कानेखुसी गरेको सुनिन्छ । एकैछिनमा आमाको चित्कारले घर हल्लिन थाल्छ । अनि धर्ति डगमगाएझै हुन्छ । दिउसै अन्धकारको महसुस हुदै गयो । आखिर म ७ वर्षको बच्चा न हुँ । सबै कुरा कसरी बुझन सक्थे । द्रुत गतिमा शारीरिक विकास हुने उमेर, अनि कल्पना र वास्तविकता छुट्याउन कठिन पर्ने उमेरको मान्छे । सधै हाँसिखुसि र उज्यालो देख्ने मेरो आमाको चित्कार र आँखामा  आँसु देखेपछि मैले सोचे कुनै अप्रिय घटना भयो होला । सबैले दुख व्यक्त गरिरेका छन् । मलाई त्यो बुझन लामो समय लाग्यो बा त भारतमै अस्ताएको ३ दिन भईसकेछ । तर मृत शरीर पनि देख्न पाइएन । केबल आयो त दुःखको खबर, असह्य पिडा अनि अन्धकार युक्त दिनहरूको संकेत ।


छिमेकी दाजुभाईले बुबा बितेको सातौं दिनमा मेरो कपाल मुण्डन गरिदिए । अनि पहिराए सेतो कपडा । घरमा सहानुभूति दिनका लागि भेटन आउने मान्छेहरू “बा” लाई भन्दा हामीलाई देखेर दुःखि हुन्थे । उनीहरू सबैको एउटै लबज हुन्थ्यो हिम्मत गर, दैबको लीला हो, जस्ता सहानुभूतीहरू हुन्थे र दया देखाउथे र भन्थे अब यिनिहरू के खान्छन ? कसरी पढछन ? पिडाको समयमा मान्छेलाई फेरी जीवन जिउन नसक्ने गरी दिएका सहाभूती र पोखेका पिडाहरू सुन्दा कहिले काही समाज देखि घृणा लागेर आउछ । मलाई लाग्छ त्यतिखेर मान्छेलाई सान्त्वना भन्दा बढी सहयोग, समानुभूती, धैर्यता र साहसको आवश्यकता हो ।


त्यो ११ दिनको कष्ट र पिडाबाट त हामी उम्कियौ । त्यसपछि सुरू भयो जिन्दगीको संघर्ष । लागे जिन्दगीका ओरालो दिनहरू अनि थपिदै गए अभावहरू । आमाको अवस्था दिनप्रतिदिन नाजुक हुदै गयो । एउटा एकल महिला र टुहुरो बच्चाले समाजमा कसरी जीवन संघर्ष गरेर माथी उठनुपर्छ भन्ने दुःख भोगेको छु र सहेको छु । 
तर आमाले बुबाको अभाव कहिल्यै हुन दिनुभएन । अनि जिन्दगीको सुनौलो बाटो देखाईरहनु भयो । हामी भाईहरू पनि हुर्किदै गयौं । को नजिक को पराई चिनियो । को सहयोगी को असहोगी छुट्याउन सकियो । बा का संगतिहरूसँग भेट हुनथाल्यो । तिम्रो बा असाध्य सहयोगी र मिलनसार थिए, बा का साथीहरूले भन्दा आफनै बा सँग भेट भए जस्तो लाग्न थाल्यो । भारत गएर अल्पत्र परेकाहरूको सहयोगी मेरो बा । रोजगार नपाएर बिचल्लि परेकाहरूको उद्धार गर्ने मेरा बा । आफनो कर्मप्रति विश्वास गर्ने मेरो बा । आज मेरो बाको बारेमा सुन्दा छाति गर्भिलो हुन्छ, अनि ती विगतका दुःखहरू भुलिन्छन् । 


बाको अनुहार मलाई ठ्याक्कै सम्झना त छैन। तर, उहाँको तस्बिर हेर्दा भने झल्को आउँछ। आज, उहाँलाई गुमाएको २४ वर्ष पूरा भएको दिन, मैले फेरि उहाँलाई सम्झिरहेको छु।
चार नाबालक छोराहरू र आफ्नो जीवनसंगिनीलाई छोडेर जानुभएको त्यो दिन, संयोगवश बाबुको मुख हेर्ने दिन पनि थियो। त्यसै दिन हजुरले हामीलाई सधैंका लागि छोडेर जानुभयो। हजुरको साथ बिना हामीले कस्तो परिस्थितिहरू सहनु पर्यो भन्ने कुरा शब्दमा व्यक्त गर्न सकिन्न। तर कतिपय क्षणहरू यस्ता आए, जसलाई सम्झिदा अहिले पनि सम्हालिन मुश्किल बनाउछन् । 
आजको जमानामा संसार भरीको समाचार केही क्षणमै थाहा हुन्छ, तर त्यो बेला हामीले बाको मृत्युको खबर तीन दिनपछि मात्रै थाहा पाएका थियौँ। म त्यस्तो छोरा, जसले बाको मृत्यू पश्चात् पनि अन्तिम पटक अनुहार देख्न पाइन । त्यो हुटहुटी अझै मरेको छैन, जुन अहिले पनि जीवितै छ । 
मलाई जिन्दगीभर कहिल्यै नआओस् भन्ने लाग्छ — त्यो दिन, जुन बुवाको मुख हेर्ने दिन। कयों वर्षसम्म चाडपर्वहरू हाम्रा लागि निरस भए । मेला पर्वहरू उदाङ्गा भए, अनि उहाँको अनुपस्थितिले हामीलाई घच्घच्याइरह्यो । 
सायद कलिलो उमेरमै हजुरको साथ नपाएर होला,  मेरो मन आजसम्म पनि निकै कमजोर बनेर बनीरहेको छ। कैयों त्यस्ता पिडादायी दृष्यहरू छन जुन म अहिले पनि न हेर्न सक्छु न त्यहाँ जान सक्छु । यसको कारण एउटै हो मैले बालापनमा भोगेका पिडाहरू र अनुभव गरेका क्षणहरू हुन । मेरा कति चाहनाहरू टुटेका छन् अनि सपनाहरू भगनावशेष भएका छन् त्यो त केवल मलाई मात्र थाहा छ । 
म आफुलाई त्यतिखेर भाग्यमानी ठान्छु तपाईँको साथ, सहयोग र माया त पाउन सकिन तर तपाईसँगै त्यो बेला खिचेका फोटाहरू भने म सँग अहिले पनि सुरक्षित छन्, जुन अवसर अरू दाजुभाईले कहिल्यै पाएनन् । आज त्यही फोटा अन्तिम सम्झना बनेको छ र त्यो पितृत्व र सदभाव ह्दयमा ज्वलन्त छ । जुन दिन तपाईँको देहअवसान भएको थियो त्यो दिन आज बाको मुख हेर्ने दिन परेकाले गहिरो पीडा अनि प्रेमको अनुभूति दिलाएको छ । 


तपाईँको हिम्मत, त्याग र माया मैले कहिल्यै भुलेको छैन। सानो छँदा दिनुभएको माया–ममता र केही उपदेशहरू आज पनि मनमा गहिरो छाप बनेर बसिरहेका छन्।
तपाईँबिनाको जीवन–यात्रा साँच्चिकै कठिन रह्यो। चाडपर्वमा रमाईलो गर्ने अनुभूति हामीलाई कहिल्यै आएन । एउटा अभिभावक विहीन बच्चाले समाजमा कति कष्टर जीवन निर्वाह गर्छ भन्ने कुरा यहाँ शब्दमा व्यक्त गरेर सम्भव छैन । त्यस्ता कष्टहरूसँग मैले मित्रता गाँसे । जे भोगे ती भोगाईहरू मेरो जिन्दगीका अमूल्य सिकाइ बनेका छन् । 

 


हरेक अभिभावकको अभावले बच्चालाई अनाथ मात्रै बनाउँदैन जीवन अधुरो पनि बनाईदिन्छ । त्यो मैले भोगेको छु र आफनै जिन्दगीसँग संघर्ष गरेर फेरी धरातलबाट विउँझिएका धेरै यादहरू मसँग जीवित छन् । म हरेक वर्ष हजुरलाई प्रेम, स्नेह र सदभावका साथ सम्झिन्छु जुन एउटा असल अभिभावकप्रतिको मेरो सम्मान हो । 
मलाई लाग्छ हजुरको आशिर्वादले मलाई जीवन जिउन सहज बनाउनेछ । तपाईँले सिकाउनुभएको जीवनका मूल्यहरूले मलाई आजसम्म हिम्मत र दृढ साहस दिएको छ । तपाईँले देखाउनु भएको प्रेम र स्नेह अनि दिनुभएको उपदेशलाई सदाका लागि संरक्षण गर्नेछु । 


त्यो ज्ञानले मलाई जीवनका मूल्यहरू सिकाएको छ । म तपाईँसँगका ती अमूल्य सम्झनाहरू कहिल्यै बिर्सिन सक्दिन। तपाईँको प्रेम र माया मेरो जीवनको अमूल्य सम्पत्ति हो। आजको दिन तपाईँको सम्झनामा समर्पित छ। म तपाईँको प्रेम र मायालाई सधैं हृदयमा राखिरहनेछु ।
सरलबाट जटिल, अध्यारो पछि उज्यालो, उकालो पछि ओरालो, निराशा पछि आशा अनि हारपछि जित यि प्रकृतिका नियम हुन । मैले यो पनि बुझेको छु, कि जीवन पछि मृत्यु सत्य छ । जुन सत्य छ त्यो स्विकार्नु पर्छ । तर कुनैकुनै स्विकार्न कठिन हुने क्षणहरू हुदाँरहेछन । अहिले बुझदैछु त्यो सत्य थियो तर स्विकार्न सहज थिएन । 
अन्तिममा, तपाईँको मृत आत्माको चिरशान्तिको कामना गर्दै आशा गर्दछु, तपाईँको परलोकको बसाईका हरेक क्षणहरू आन्नददायी र सुखी हुनेछन् । हार्दिक श्रद्धाञ्जलि “बा” !

प्रतिक्रिया