बालविवाह रोकथाम अन्तरक्रिया
दैलेख, चैत २ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका इएलपी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले मानवअधिकार प्रवद्र्धनमा सरकारका निकायहरु जिम्मेवार हुनुपर्ने बताएकी छिन् ।
महिला तथा बालबालिका कार्यालय दैलेख र मानवअधिकार निगरानी समूह लाँकुरीको आयोजनामा डुङ्गेश्वर गाउँपालिका २ नं. वडा लाँकुरीमा आज आयोजित बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयक अन्तरक्रियामा उनले सो विचार व्यक्त गर्नुभएको हो ।
फोकल पर्सन मल्लले गैरसरकारी क्षेत्र वा नागरिक समाजले सहयोगीको भूमिका मात्र हुने बताइन् । उनले बालविवाह सामाजिक समस्या भएकाले समुदायको अग्रसरता जरुरी हुने औल्याइन् ।
कार्यक्रममा जनकल्याण मावि सेर्माकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र बिकले बालविवाहले पार्ने आर्थिक, सामाजिक हानी नोक्सानीका बारे अझै जनचेतना आवश्यक रहेको प्रष्ट्याए ।
जिल्ला स्तरीय मानवअधिकार निगरानी समूह दैलेखका संयोजक पत्रकार ज्योती कटुवालले समाज हुने अन्याय अत्याचारका विषयमा खुलेर बोल्न सके पीडितलाई न्याय दिलाउन सहज हुने तर्क राखे ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका बालसंरक्षण निरीक्षक गोविन्द खत्री, नेपाली काँग्रेसका पदम बुढा, एमालेका रुद्रबहादुर बिष्टले बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयमा विचार राखेका थिए ।
मानवअधिकार निगरानी समूह लाँकुरीका संयोजक शेरबहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका २ नं. वडा लाँकुरीका प्रतिनिधि नेत्रबहादुर बुढा, लाँकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण बिष्ट, शिक्षक तप्तबहादुर खत्री, विद्यार्थी प्रतिनिधिहरु सागर बिष्ट र लक्ष्मी खत्रीले बोलेका थिए ।
त्यसबखत लाँकुरीमा बालविवाह कुनै पनि बाहनामा स्वीकार्य नहुने र बालविवाह रोकथाममा जुट्ने स्थानीय राजनीतिक दल, सरकारी निकाय, सामाजिक अगुवा तथा नागरिक समाजहरुले सामुहिक लिखित प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया