विस्थापितलाई पाल

विस्थापितलाई पाल

गोविन्द केसी दैलेख भाद्र ७ – पहिरोले नारायण नगरपालिका –६ नमुनाबस्तीका विस्थापित बादी परिवारले बस्नको लागि पाल भएका छन् । जिल्ला दैविकप्रकोप तथा उद्धार समिति मार्फत उक्त पाल पाएका हुन् । जिल्लामा कार्य क्षेत्र बनाएका दुई गैरसंस्थाले उक्त पाल समिति मार्फत बादी परिवारलाई दिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द्र(सोसेक) र साहस नेपाल संस्थाले ४२ वटा पाल वितरण गरेका हुन् । दुवै संस्थाले २१ वटाका दरले ४२ वटा पाल उपलब्ध गराएका हुन् । पाल नहुँदा हप्तादिनसम्म नयाँ निर्माण भैरहेका सरकारी भवनहरुमा बादी परिवार आश्रय लिएर बसेका छन् । नेपाल रेडक्रस सोसाईटी, नगरपालिका, नेपाल प्रहरी र आर्मीको सहयोगमा ४० घर परिवारका लागि टहरा बनाईने निर्णय भएको जिल्ला दैविकप्रकोप तथा उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बताए । सरकारी भवनमा बसीरहेका विस्थापित ४० बादी परिवारलाई नयाँ बसपार्क, पुरानो बसपार्कमा राखीने तयारी भैरहेको छ । सोमवार नै उनीहरुलाई टहरा बनाएर सरकारी भवनबाट सारिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । नमुना बस्तीमा ६५ घर रहेका छन् । ती मध्ये अति जोखीम ४० घर विस्थापित भएका हुन् । बस्तीमा बाँकी २५ घर पानी परेका बेला जाग्राराम भएर बस्ने गरेको बादी यूवा पदम बताउँछन् । उक्त बस्तीमा गत शनिवार साँझ पहिराले घर पुरिएर ३ जनाले ज्यान गुमाएका थिए । अहिले बस्ती पहिरोले थिलाथिला परेको छ । त्यस्तै लुथरन विश्व फेडेसनको विकास कार्यक्रमबाट जिल्ला दैविक प्रकोप उद्धार तथा राहत कोषमा प्रमुख जिल्ला अधिकारीमार्फत २० हजार रुपैँया कार्यक्रम संयोजक महेन्द्र खड्काले हस्तान्तण गरे । बादी परिवारलाई खाद्यान्न सहयोगको लागि रकम दिईएको खड्काले बताए ।

प्रतिक्रिया