शिक्षक र विद्यार्थी छुट्टै शौचालय हुनुहुन्न
दैलेख, जेठ १८ – जिल्ला शिक्षा कार्यालय दैलेखका विद्यालय निरीक्षक धीरेन्द्रप्रसाद शर्माले शिक्षकको शौचालय छुट्टै भएससम्म विद्यार्थी शौचालय सफा हुन नसक्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भैरव आधारभूत विद्यालय लाँकुरीमा आज भएको विद्यार्थी विद्यालय सवाल अन्तरक्रिया कार्यक्रममा छात्राहरुको शौचालय सरसफाई सुधार गर्न शिक्षिकाहरु समेत एकै शौचालय प्रयोग गर्नुपर्ने उनले सुझाव दिए ।
त्यसबखत विद्यालय निरीक्षक शर्माले विद्यालयमा विद्यार्थी झिकाउने, टिकाउने, सिकाउने र बिकाउने विद्यालयप्रतिको छाप बनाउन सक्नुपर्ने बताए । विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सके विद्यार्थी कहाँबाट ल्याउने भन्ने समस्या नरहेको उनको बिश्लेषण थियो ।
कार्यक्रममा इन्सेक इएलपी परियोजनाका जिल्ला सहजकर्ता अमर सुनारले इन्सेकको मानवअधिकार अभियान बालअधिकार पनि महत्वपूर्ण पक्ष भएकोले बालअधिकार चेतना समूह मार्फत अधिकार प्रवद्र्धन सम्वन्धी क्रियाकलाप बेलपाटा र लाँकुरीमा संचालन गरिएको जानकारी दिए ।
मानवअधिकार निगरानी समूहका जिल्ला संयोजक पत्रकार ज्योती कटुवालले एक्काइसौं सताब्दीका बालबालिकाहरु प्रविधि र मौलिक सिर्जनात्मक अध्ययन कार्यमा अग्रसर हुनुपर्ने आवश्यकता दर्शाइन् । कार्यक्रममा भैरव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खत्री, प्रधनाध्यापक तप्तबहादुर खत्री, लाँकुरीका पूर्व गाविस उपाध्यक्ष कर्णबहादुर बिष्टले पनि स्थानीय समस्या र समाधानका उपाय बारे धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुले विद्यालयमा विज्ञान प्रयोगशाला नभएको, कम्प्यूटर सैद्धान्तिक पढाई हुने तर कम्प्यूटर नभएकोले शिक्षक दरवन्दी अभावमा शैक्षिक गुणस्तर सुधार हुन नसकेको, विद्यालयमा पाठ्यपुस्तक अभाव र विद्यालयले नीजि श्रोतका शिक्षकहरु १४ महिनादेखि तलव दिन नसकेको प्रमुख समस्याका रुपमा उठेका थिए ।
प्रतिक्रिया