पूर्वाधारको खोजी गर्दै विश्वविद्यालयको टोली दैलेखमा
दैलेख पौष २५— मध्यपश्चिम विश्वविद्यालय (एमयु)ले आगामी शैक्षिक सत्रबाट पर्यटन तथा आतिथ्यता व्यवस्थापन विषयमा पढाई सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि विश्वविद्यालये पूर्वाधारको खोजी सुरु गरेको छ ।
आवश्यक अध्ययनका लागि विश्वविद्यालयको टोली दैलेखको खागीतडा पुगेको छ। प्रदेश ६ का उत्कृष्ट होमस्टेहरु अवलोकन गर्ने र पर्यटक तथा आतिथ्यता व्यवस्थापनका लागि आवश्यक पूर्वाधार जुटाउने विश्वविद्यालयले जनाएको छ ।
तस्बिरः दैलेखको लाफा होमस्टेमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र
रजिस्ट्रार डा.महेन्द्र मल्लको टोलीलाई स्वागत गर्दै महिलाहरु ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला, रजिस्ट्रार डा.महेन्द्र मल्ललगायत २५ जनाको टोली दुल्लु नगरपालिकाको खागीतडामा पुगेको हो । रजिस्ट्रार डा. मल्लले खातिगडासहित अन्य स्थानमा रहेका होमस्टेको अध्ययन गरी पर्यटन विकासमा समेत सहयोग र्पुयाउने बताए । दैलेख सदरमुकामबाट १२ किलोमिटर दूरीमा रहेको होमस्टे छामघाट र लोहोरे खोला दोभानबीचमा अवस्थित छ । लाफा होमस्टे होमस्टे एक वर्षदेखि सञ्चालनमा छ । स्थानीय संस्कृति र पर्यटनलाई प्रवर्द्धन गरी होमस्टे सञ्चालन गरिएको हो। होमस्टेमा जिल्ला बाहिरबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन् ।
१६ जना परिवार मिलेर होमस्टे सञ्चालन गरेका हुन्। घररघरमा स्थानीय जातका कुखुरा र खसीहरु पालिएका छन्। सञ्चालकहरुले स्थानीय उत्पादन मात्र खानपानमा प्रयोग गर्ने गरेको बताए । साँझ ७ बजे स्थानीय भेषभूषामा सांस्कृतिक कार्यक्रम देखाउने गरिएको छ । उपकुलपति डा. कोइरालाले प्राकृतिक सौन्दर्यको क्षेत्रमा कसरी विकास गर्ने र अध्ययन अध्यापनको विषय बनाउने भनेर अध्ययन थालिएको बताए । लाफाका होमस्टेका सञ्चालक रमेशकुमार आलेमगरले आफ्नो कला संस्कृति र मौलिकता संरक्षणका लागि होमस्टे सञ्चालन गरिएको बताए। विश्वविद्यालयको टोली अध्ययनमा आएपछि थप उर्जा मिलेको लाफाका सदस्यहरुले जनाएका छन् ।
प्रतिक्रिया