दुर्घटना पछि मात्र हुन थाल्यो कडाई

दुर्घटना पछि मात्र हुन थाल्यो कडाई

भिम सिजापति

भाद्र ५ दैलेख – सरकारले आफुले निर्माण गरेको नियम कानुन नियमनमा खासै ध्यान नदिएको पाईन्छ । सडक दुर्घटना भए पछि मात्र प्रहरी तथा सरकारले विभिन्न खाले नियम लागु गर्ने गर्दछ । केहि समय अगाडी लागु गरेको टाईमकार्ड पनि अहिले सञ्चालनमा छैन । सिट क्षमता भन्दा बढि यात्रु नराख्ने नियम पनि अहिले प्रहरी तथा सरकारले कार्यान्वयनमा त्यति चासो दिएको पाईदैन । तर सडक दुर्घटना भएर हुने धनजनको क्षति पछि मात्र सरकारले यातायात सञ्चालनमा कडाई गर्ने परम्परा दैलेखमा पनि त्यतिकै मात्रामा छ ।trafik
विगत देखि नै दुर्घटना न्यूनिकरणमा सचेतता अपनाउने भन्दै प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई पुनः लिखित निर्देशन प्राप्त भएको छ । जिल्लाका राजमार्ग र सहायक मार्गका सडक खण्डमा हुने दुर्घटनामा कमी ल्याउन सडक दुर्घटना भएपछि आउने निर्देशन कार्यान्वयन गर्ने सन्दर्भमा मातहतका प्रहरी युनिटको क्रियाशिलताको निरन्तरता कहिले सम्म कायम रहने भन्ने कुरामा प्रश्न चिन्ह खडा भएको छ । विगतका केहि दिनका लागी गरीएको प्रयास केहि दिनकै लागी सिमित भएको छ । अहिले त्यो एकादेशको कथा भैसकेको छ ।
दैलेखमा विगत देखि नै ट्राफिक नियम कार्यान्वयन गर्ने गराउने कुरामा प्रहरी सक्रियता भने रहदै आएको दावी छ । मुलुकका कुनै पनि स्थानमा सडक दुर्घटना भई धनजनको क्षति हुँदा प्रहरीको माथि निकायले निर्देशन दिनु स्वभाविक हो । आफ्ना मातहतका निकायहरुलाई घच्घचाउनु दायित्व पनि हो । दैलेखमा स्थानिय सामाजिक संघसंस्थाहरुको सहकार्यमा सडक दुर्घटना न्यूनिकरण गर्न विद्यार्थीलाई प्रशिक्षण, नियमित अनुगमन, रिफ्रेस सेन्टर संचालन लगायतका क्रियाकलाप जिल्ला प्रहरी दैलेखले गर्दै आईरहेको छ ।
अधिकांश सडक खण्डमा सिट क्षमताभन्दा वढी यात्रु राख्ने, यात्रु झुण्ड्याउने, सार्वजनिक यात्रुवाहक सवारी साधनले मालसामान वोक्ने र असिमित गतिमा चलाउने जस्ता कारण दुर्घटना हुने भन्दै दिर्घकालिन रुपमा सवारी दुर्घटना न्यूनिकरण गर्न दैनिक रुपमा रणनितिक ठोस कार्य योजना निर्माण गरी कार्यान्वयन गराउन लिखित निर्देशन आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक छविलाल ढकालले बताए । उनले प्राप्त निर्देशन अनुसार भदौ १ गते देखि नै कडाईका साथ कामको थालनी गरेको र अटेर गर्नेलाई जरिवाना समेत गरीएको वताए । टाईम कार्डमा केहि हेरफेर गरीनुपर्ने सवारी चालकहरुले सुझाव दिएपछि केहि समय भित्र सरोकार निकायसंग समन्वय गरी टाईम कार्ड पनि लागु गर्ने तयारी रहेको उनको भनाई छ ।
सडक दुर्घटना न्यूनिकरण गर्न गरीएको निर्देशनमा नियमविपरित कार्य गर्ने प्रहरीलाई पनि कारवाही गरिने उल्लेख गरीएको छ । जिल्ला सहित मातहतका प्रहरी युनिटलाई केन्द्रित गरी गरीएको निर्देशनमा ट्राफिक नियम विपरित कार्यहरु कोही कसैको क्षेत्रमा देखिएमा एरिया ईन्चार्जलाई प्रहरी नियमावली २०७१ अनुसार कारवाही गरीने प्रष्ट रुपमा राखिएको छ ।

प्रतिक्रिया