शिक्षामा हचुवा ‘प्रोजेक्ट’, शिक्षकलाई विद्यालयले छुट्टी दिएन

शिक्षामा हचुवा ‘प्रोजेक्ट’, शिक्षकलाई विद्यालयले छुट्टी दिएन

-हरिसुन्दर छुकां / काठमाडौं – शिक्षा क्षेत्रमा विदेशी परियोजना हचुवाको भरमा लागू हुन्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ, नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम इजीआरपी ! विभिन्न ६ जिल्लाका १० लाख विद्यार्थीको पठन सिपमा उल्लेख्य सुधार गर्ने भन्दै अमेरिकी अन्तर्र्रािष्ट्रय विकास नियोग (युएसएआईडी) को सहयोगमा यसै शैक्षिक सत्र देखि सुरु भएको कार्यक्रम असफल हुने छेक छन्द देखिएको छ ।

मार्च २०१५ देखि मार्च २०२० सम्म सञ्चालन हुने तय भएको उक्त कार्यक्रम सञ्चालनको जिम्मा रिसर्च ट्रयाङ्गल ईन्स्टिच्युट (आरटीआई इन्टरनेशनल) ले पाएको छ ।

कार्यक्रम लागू गर्नु अघि परियोजनाले विभिन्न विद्यालयका शिक्षकलाई पठन उत्प्रेरक अर्थात् रिडिङ मोटिभेटर (आरएम) भनेर चयन गरेको थियो । उनीहरुलाई परियोजनामा आवद्ध गराउँदा विद्यालयको पढाई खस्कने भन्दै सम्बन्धित विद्यालयले त्यस्ता शिक्षकलाई विद्यालयमै आउन भनेपछि परियोजना हचुवाका भरमा लागू भएको पुष्टि भएको हो । ‘विदेशीले पैसा दिन्छु भने पछि आँखा चिम्लेर स्विकृती दिने शिक्षा मन्त्रालयका हाकिमहरुका कारण विद्यालयले किन समस्या भोग्ने ?’ एक जना प्रधानाध्यापक प्रश्न गर्छन्, ‘त्यसै त हामीलाई कम दरबन्दि दिने त्यस माथि भएका शिक्षकलाई पनि प्रोजेक्टमा काम लगाए पछि हाम्रा विद्यार्थी कसले पढाउने ?’

शिक्षकहरु पठन उत्प्रेरक भएर गएपछि विद्यालयमा हुने शिक्षक अभाव पूर्ति गर्ने तर्फ मन्त्रालयले विकल्प दिन नसक्दा समस्या भएको सम्बन्धित विद्यालयको गुनासो छ । मन्त्रालयका अनुसार यो शैक्षिक सत्रबाट नमूनाको रुपमा काठमाडौं उपत्यकाको भक्तपुर सहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ जिल्लामा यो कार्यक्रम लागू भएको छ ।

कार्यक्रम लागू भएको मध्ये भक्तपुरका आरएमहरुलाई सम्बन्धित विद्यालयले फिर्ता बोलाईसकेको छ । सूर्यविनायक चित्तपोलको देउजागाउँ निमाविकी अंग्रेजी विषयकी शिक्षक रामप्यारी न्हेम्हाफूकीलाई विद्यालयले फिर्ता बोलाईसकेको छ । जोरपाटी मावि नंखेलका विद्यालयहरुमा कक्षा १, २ र ३ का विद्यार्थीका लागि पठन उत्प्रेरकका रुपमा छानिएकी उनी हिजो आज विद्यालयमै भेटिन्छिन् । ‘पठन उत्प्रेरकका लागि छनोट भएँ, तालिममा पनि सहभागी भएँ, तर अब स्कुलले तपाइँको सट्टा पढाउने शिक्षक नभएकोले स्कुल चलाउन गा¥हो भो भनेर मलाई फिर्ता बोलाएको छ ।’ उनले भनिन्, ‘त्यही भएर म स्रोत केन्द्र अन्तर्गतका विद्यालयहरुमा जान छोडेर आफ्नै स्कुलमा आएकी छु ।’

कुरा न्हेम्हाफूकीको मात्र हैन । कार्यक्रम लागू भएका अन्य श्रोत केन्द्रको समस्या पनि समान छन् । नगरकोटको गद्गदे माविका अंग्रेजी शिक्षक पूर्ण तामाङको पनि अवस्था उस्तै छ । वागीश्वरी अगुवा स्रोत केन्द्रका विद्यालयहरु हेर्नका लागि उनले नियुक्ति पाए पनि विद्यालयले नछोड्दा उक्त परियोजना अलपत्र परेको छ ।

‘स्कुलले तपाइँ गए पछि कक्षा नै डामाडोल भयो, कोर्स नै कता हो कता भयो भनेर मलाई स्कुलमै फिर्ता बोलाए पछि म स्कुलमै हाजिरी गर्छु ।’ शिक्षक तामाङले भने ।

शिक्षा कार्यालय भक्तपुरका अनुसार अहिले जिल्लाका आठवटा स्रोत केन्द्रहरु मध्ये दुईवटा स्रोत केन्द्रमा मात्र पठन सीप प्रवद्र्धन अन्तर्गतका कामहरु भएका छन्, अन्यमा काम हुन सकेको छैन ।

‘यसको मुख्य कारण इजीआरपीको आरएम छनोट गर्ने काम व्यवहारिक नभएर हो, यसबारेमा हामीले सम्बन्धित निकायलाई जानकारी दिइसेकेका छौं ।’ सहायक जिशिअ पुष्पराज ढकालले भने ।

उनले आरएममा छनोट भएका शिक्षकहरु कार्यरत विद्यालयमा शिक्षक खाली हुँदा र जिल्ला शिक्षा कार्यालयले त्यसको ठाउँमा कुनै सट्टा शिक्षक पठाउन नसक्दा सम्बन्धित विद्यालयका प्रअहरुले शिक्षक नछोडेको बताए ।
शिक्षा मन्त्रालयका अनुसार नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सम्झौता अनुसार युएसएडको ५ करोड ३८ लाख डलर सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्ष अघि नै सञ्चालनमा आए पनि यो वर्षबाट मात्र विद्यालय तहमा लागू भएको हो ।

नेपालको पहिलो राष्ट्रव्यापी अर्ली ग्रेड रिडिङ मूल्याङ्कनले कक्षा २ मा अध्ययनरत ३४ प्रतिशत र कक्षा ३ मा अध्ययनरत १९ प्रतिशत बालबालिकामा नेपाली पठन सिप अत्यन्तै न्यून रहेको तथ्य फेला परेको थियो । उक्त मूल्याङ्कनका अनुसार अधिकांश विद्यार्थीको पठन सिप अन्तर्राष्ट्रिय मापदण्ड भन्दा निकै कम रहेको छ । कार्यक्रमले विभिन्न स्थानीय भाषाका पाठ्य तथा सिकाइ सामग्रीहरूको गुणस्तरको सुधारमा जोड दिने दावी गरेको छ ।

मैले नियुक्ती पत्र नै लिइँन :  शिक्षक सूर्यमाया ह्यौमिखा

प्राथमिक तहको पठन सीप विकास अन्तर्गत पठन उत्प्रेरक चाहियो भनेर जिल्ला शिक्षा कार्यालयले सूचना निकाले पछि मैले आफू कार्यरत दोलागिरि उमाविबाट स्वीकृति र सिफारिश लिएर दरखास्त दिएँ । दरखास्त अनुसार परीक्षा दिएँ । परीक्षामा सफल पनि भएँ ।

परीक्षामा सफल भए पनि मैले अहिले सम्म पनि नियुक्ति पत्र बुझेको छैन । छनोट भए पछि हामीले स्रोत केन्द्र र स्कुल दुबैमा टाइम मिलाउनुपर्ने हुँदा समस्या आउने भएर मैले नियुक्ति पत्र नै लिइँन । साथै मैले स्कुल छोडेर स्रोत केन्द्रमा काम गर्दा स्कुलको कक्षामा बाधा हुने भए पछि स्कुलले पनि छोडेन । मैले आफ्नो स्कुल विद्यार्थीलाई अप्ठ्यारो पार्न भएन भन्ने लाग्यो  ।

एडु खवरमा खवरछ ।

प्रतिक्रिया