दैलेखमा २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने

दैलेखमा २० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने

दैलेखमा यो वर्ष धानको उत्पादन बढ्ने देखिएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार अनुकूल मौसमका कारण धान उत्पादनमा वृद्धि हुने संकेत देखिएको छ । गतवर्ष २१ हजार ८ सय ९५ मेक्ट्रीक्टन धान उत्पादन भएको दैलेखमा यस वर्ष २० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने भएको छ । Rice
आर्थिक वर्ष ०७२–०७३ को जिल्ला कृषि विकास कार्यालयको खाद्य वासलात अनुसार वार्षिक ५५ हजार ८ सय ४४ मेक्ट्रीक्टन खाद्यन्नको आवश्यकता पर्ने दैलेखमा ४६ हजार ७ सय ९९ सय मेक्ट्रीक्टन खाद्यन्न उत्पादन हुदै आएको छ । विगत वर्षहरूमा निराशाजनक उत्पादन भएको धान उत्पादनमा यस वर्ष भने सुखद खबर आउने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालय दैलेखका योजना अधिकृत राजु भुजले बताए । उनका अनुसार धान काट्दा र भण्डारण गर्ने समयमा मौसम प्रतिकूल नभए अनुमान गरिएको भन्दा बढी उत्पादन हुने प्रष्ट देखिएको छ ।

धान खेतीका लागि शुरुदेखि अन्त्य सम्म पानी परेका कारण दैलेखमा यो वर्ष २६ हजार २ सय ७४ मेक्ट्रीक्टन धान उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार जिल्लामा ८ हजार ३ सय ७ हेक्टरमा धानखेती गरिदै आएको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार यो वर्ष करिब ४ हजार ३ सय ७९ मेक्ट्रीक्टन धान उत्पादन बढ्ने देखिएको छ ।समयमा खेती गर्ने सिजनमै आइलाग्ने हरेकखाले समस्या र कृषिमा लाग्ने गरेका धेरै प्रकारका रोगको समस्याले वर्षौंदेखि नेपालको कृषिक्षेत्र पछि परेको जिल्ला कृषि विकास कार्यालय दैलेखका वरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले वताए । कृषि क्षेत्रमा कम जनशक्ति र युवा पुस्ताहरु वैदेशिक रोजगारिका लागी विदेश पलायन हुनुले पनि कृषि क्षेत्र पछाडि परेको बताउँछन् अधिकृत सुवेदी ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार धान खेतीका लागि ९ हजार ६ सय ३८ हेक्टर जमिनमा सिचाइको व्यवस्था भएपनि मौसमी सिचाई ७ हजार १ सय ९ हेक्टर र वर्षभरी सिचाई हुने २ हजार ५ सय २९ हेक्टर रहेको छ । जिल्लामा धान खेतीका लागि सम्बन्धित निकायले सिचाइको सुविधा उपल्ब्ध गराएमा धान उत्पादन अझ वृद्धि हुने योजना अधिकृत भुजले बताए । ‘उन्नत प्रविधि, सिचाईको सुविधा र हिउँदे धान लगाए यो वर्षको तुलनामा दैलेखमा धान उत्पादन दोव्वर हुन्छ’ योजना अधिकृत भुजले भने, ‘हावा पानीका हिसावले पनि दैलेख धान खेतीको लागि उपयूक्त छ ।’ जिल्लामा वर्षेनी धान उत्पादनमा कम र वृद्धि भएपनि कृषिप्रधान देश भएर पनि सोचेजस्तो उत्पादन नभएको नेपालमा वर्षेनी २५ देखि ३० अर्ब रुपैयाँभन्दा बढीको धान–चामल विदेशबाट आयात गर्नुपरेको यथार्थ छ । वर्षेनी खाद्यान्नको माग बढ्ने तर उत्पादनमा चाहिँ गिरावट आउने समस्याले नेपालको कृषिक्षेत्र विगत केही दशकयता थला नै परेको छ ।

दिन–प्रतिदिन खेतीयोग्य जमिन घरघडेरीका लागि प्लटिङ गर्ने क्रम बढिरहेकाले आगामी वर्षहरुमा नेपालमा धान उत्पादनमा कमी आउन सक्ने अधिकृत सुवेदीले बताए । खेतीयोग्य जमिनमा बस्ती निर्माण गर्न नपाइने भन्दै नेपाल सरकारले ‘भूमि ऐन’ पारित गरी लागू गरिसके पनि व्यवहारमा भने उक्त ऐन अझै कार्यान्वयनमा आउन सकेको छैन ।

प्रतिक्रिया