मन्त्रालयको निर्देशन मान्दैनन दैलखका डाक्टर

मन्त्रालयको निर्देशन मान्दैनन दैलखका डाक्टर

दैलेख, मंसिर १३ । स्वास्थ्य मन्त्रालयले आम जनताको स्वास्थ्यको ख्याल गर्दै सरकारी स्वास्थ्य संस्थामा १० देखि ४ बजेसम्म नाम दर्ता तथा विरामी जाँच गर्नुपर्ने निर्देशिका तयार गरि कार्यान्वयन गर्न परिपत्र गरे पनि दैलेखमा सो निर्देशिका कार्यान्वयन भएको छैन ।

जिल्ला अस्पताल दैलेखमा दिउँसो १ बजेसम्म मात्र नाम लेखाउन पाइन्छ । १ बजेपछि नाम दर्ता शाखामा ताला लगाइएको भेटिन्छ । बिहीबार दिउँसो २ बजेतिर जिल्ला अस्पतालमा पुग्दा नाम दर्ता शाखामा ताला लगाइएको भेटियो । मन्त्रालयले विरामीको उपचारका लागि कार्यालय समयसम्म नाम दर्ता तथा विरामी जाँच गर्नुपर्ने अनिवार्य निर्देशन दिए पनि सो कार्यान्वयन नभएपछि विरामी मर्कामा परेका छन् । निर्देशिका कार्यान्वयन नभएपछि दिउँसो १ बजेपछि अस्पताल पुगेका विरामी उपचार नगराई फर्कने गरेका छन् ।

मन्त्रालयको परिपत्र कार्यान्वयन गर्न नसकिएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा. राजकुमार विकले बताए । उनले जिल्लाका कनुै पनि स्वास्थ्य संस्थामा १० देखि ४ बजेसम्म नाम दर्ताको सुविधा नभएको स्वीकार गरे । मन्त्रालयको निर्देशनको ठाडै उल्लंघन गरेका डा. विकले अहिलेकै सेवा सुविधामा सो निर्देशन कार्यान्वयन गर्न नसकिने बताए ।

विरामीलाई गुणस्तरीय सेवा नदिएको भन्दै डा. विकसँग सेवाग्राही पनि सन्तुस्ट छैनन् । डा. विकले अस्पतालमा आउने विरामीसँग राम्रो व्यवहार नगर्ने एक पीडितले बताए । कुनै बेला स्वास्थ्यका विभिन्न सूचांकमा उच्च स्तरमा रहेको दैलेख पछिल्ला दिनहरुमा खस्किँदै गएको छ । जिल्लाको स्वास्थ्य सूचांक खस्किनुमा डा. विकको कार्यक्षमताको समस्या भएको सरोकारवाला बताउँछन् । उमेरले पनि अस्लारे डा. विकको कार्यालय सञ्चालन पनि अल्लारे रहेको बताउँछन् अस्पतालका अन्य कर्मचारी ।

प्रतिक्रिया