गृहमन्त्रीलाई जयबहादुरको पक्षमा कसले फकायो ?

गृहमन्त्रीलाई जयबहादुरको पक्षमा कसले फकायो ?

२९ माघ, काठमाडौं । नेपाल प्रहरीको २५ औं आइजीपी बन्ने खेल उत्कर्षमा पुगेको छ । पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई तीन नम्बरमा रहेका जयबहादुर चन्दले पछि पार्ने सम्भावना बढेको छ ।


गृहमन्त्री कसरी युटर्न भए ?

र, यससँगै एउटा प्रश्न खडा भएको छ- तेस्रो बरियताका चन्दलाई आइजीपी बनेको खण्डमा पहिलो बरियताका डीआइजी नवराज सिलवालले एआइजीमै चित्त बुझाउलान् वा प्रहरी संगठनबाट राजीनामा देलान् ?

सीआर्इबी प्रमुख डीआइजी नवराज सिलवाल गृहमन्त्री विमलेन्द्र निधीकै आडमा ३४ किलो सुनकाण्डको अनुसन्धानमा हौसिइरहेका थिए । सुन तस्करीमा संलग्न भन्सारका कर्मचारी हुँदै आफ्नै सहकर्मी एसएसपी श्याम खत्रीलाई हत्कडी लगाउने आँट पनि डीआर्इजी सिलवालले गृहमन्त्रीकै आड भरोसामा गरेका थिए ।

संसदीय समितिहरुमा सुनकाण्डको छानविन गर्न टोली बनाउनुपर्छ भन्दा पनि गृहमन्त्री निधीले सिलवाललाई नै भरोसा गरेर सीआर्इबी अनुसन्धानमा सक्षम रहेको जवाफ दिएका थिए । तर, यतिबेला आर्इजीपी नियुक्ति प्रकरणमा गृहमन्त्री निधी एकाएक चन्दको पक्षमा युटर्न भएपछि सिलवालका लागि आइजीपीको पद सकसपूर्ण बनेको छ ।

केही दिन अघिसम्म गृहमन्त्री निधी एक नम्बरमा रहेका सिलवाललाई नै आइजीपी बनाउनुपर्ने पक्षमा थिए । तर, कांग्रेस सभापति देउवाको चर्को दबावका कारण बिहीबारदेखि उनी एकाएक ‘युटर्न’ भएको खबरले डीआर्इजी सिलवाललाई तरंगित बनाएको छ ।

स्रोतका अनुसार बुधबार प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवावीच आर्इजीपी नियुक्तिबारे कुराकानी भएको थियो । तर, प्रधानमन्त्री दाहाल र देउवावीचसहमति नजुट्दा बिहीबार आर्इजीपी बनाउने विषयले मन्त्रिपरिषदको बैठकमा प्रवेश पाएन ।

गृहमन्त्रालय निकट स्रोतका अनुसार बुधबार विमलेन्द्र निधी र शेरबहादुर देउवालाई मिलाउन यातायात मन्त्री रमेश लेखक सक्रिय भएका थिए । देउवा र निधीवीच चर्को विवाद भएको खबर सार्वजनिक भएपछि मन्त्री लेखक सुदुरपश्चिमका जयबहादुर चन्दलाई नै आइजीपी बनाउनुपर्छ भन्दै निधिलाई मनाउन सफल भएको स्रोतको दाबी छ ।

प्रहरी प्रधान कार्यालयका एक डीआर्इजी भन्छन् ‘जयबहादुर चन्द त्यति नराम्रा मान्छे होइनन्, तर उनले आफू संगठन हाँक्न सक्ने पात्रको रुपमा भन्दा पनि सुदुरपश्चिमको भएको र कांग्रेसनिकट भएको सन्देश बाहिर गएको छ, जुन संगठनको हितमा छैन र स्वयं चन्दको हितमा पनि छैन ।’

विगतमा रोलक्रम मिच्दा के भयो ?

उपेन्द्रकान्त अर्यालभन्दा पहिले आर्इजीपी बनेका कुवेरसिंह रानाका पालामा पनि आर्इजीपी नियुक्तिमा यस्तै रस्साकस्सी चलेको थियो । एक नम्बरमा रहेका राना, दुई नम्बरमा रहेका नवराज ढकाल र तीन नम्बरमा रहेका भीष्म प्रसाईवीच टक्कर परेको थियो ।

त्यसबेला तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले भीष्म प्रसाईलाई च्यापेपछि आर्इजीपी बनाउने खेल थप चोटिलो बन्दै गएको थियो । तर, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एक नम्बरमै रहेका रानालाई आर्इजीपी बनाउने अडान लिएपछि गच्छदारको घुर्की फेल खाएको थियो ।

त्यसबेला दुई नम्बरमा रहेका ढकालले आर्इजीपीको प्रतिस्पर्धामा देखिए पनि त्यतिधेरै लडाइँ गरेनन् र महानगरीय प्रहरीको नेतृत्व सम्हालेर अवकाश पाए ।

अहिले परिस्थिति लगभग उस्तै बनेको छ । प्रधानमन्त्री प्रचण्ड एक नम्बरमा रहेका नवराज सिलवालकै पक्षमा छन् भने केही दिन अघिसम्म सिलवालको पक्षमा रहेका विमलेन्द्र निधी एकाएक चन्दको पक्षमा गएका छन् ।

त्यसो त ०६६ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा नै एक नम्बरमा रहेका रविन्द्रप्रताप शाहलाई नबनाएर २ नम्बरका रमेश चन्द ठकुरीलाई आइजीपी बनाइएको थियो । तर, चन्दलाई अख्तियार लागेपछि शाह नै आइजीपी बने ।

त्यसअघि कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा पनि ०६३ सालमा एक नम्बरमा रहेका राजेन्द्रबहादुर सिंहलाई पाखा लगाउँदै ओमविक्रम राणालाई आर्इजीपी बनाइएको थियो । पछि राणा पनि रमेशचन्द ठकुरीसँगै सुडान काण्डमा मुछिए ।

यदि सिलवाल आर्इजीपी हुनबाट रोकिए भने उनले प्रहरी संगठन नै त्याग्न सक्ने कतिपयको अनुमान छ । तर, केहीले भने सिलवालले मुखैमा आएको एआइजी पद नछाड्ने अडकल काटिरहेका छन् ।

एसपीबाट एसएसपी हुँदादेखि एक नम्बरमा रहेका सिलवाललाई तीन नम्बरमा रहेका चन्दले सलाम ठोक्न लगाउने सम्भावना बढेको छ । अब यो खेलमा प्रधानमन्त्रीले पनि चन्दलाई नै आर्इजीपीको फुली लगाउने गृहको प्रस्तावलाई सदर गरे भने सिलवालले चन्दको मातहतमा बसेर काम गर्लान् नि पद त्याग्लान् ? यो धेरैको चासोको विषय बनेको छ ।

आफ्नै ब्याजी एसएसपी श्याम खत्रीलाई हिरासतमा राखेर सुन तस्कर खोजिरहेका नवराज सिलवाल यदि आर्इजीपी भएनन् भने ३४ किलो सुनकाण्डको अनुसन्धान कसले र कसरी अघि बढाउला ? यो पनि प्रहरीभित्र अहिले जिज्ञासाको विषय बनेको छ । source : onlinekhabar.com

 

 

प्रतिक्रिया