क्यान्सर अस्पताल बिरामीका लागि निःशुल्क बस सेवा सुरु

          |   प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३     ::: 234 पटक पढिएको   |  

२१ फागुन, भक्तपुर। क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले आजदेखि निःशुल्क बस सेवा सुरु गरेको छ । अस्पतालले बिहान ५ः३० देखि साँझ ८ः३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो ।

अस्पताल प्रशासन शाखाका अधिकृत राजाराम तजलेकाअनुसार अस्पतालबाट बिहान ५ः३० बजे पहिलो ट्रिप बस बिरामी लिनका लागि छुट्छ भने बिहान ७ः२५ बजे बिरामी लिएर बस आइपुग्छ ।भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले सञ्चालन गरेको बस सेवा लिन बिरामी वा त्यसको कुरुवाले अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा लिनुपर्ने व्यवस्था गरेको छ ।

दोस्रो ट्रिप ११ः३० बजे छुटेर १२ः३० बजे आउने, तेस्रो ट्रिप १ः३० बजे छुटेर २ः३० बजे आउने र चौथो ट्रिप साँझ ६ः३० बजे छुटेर ८ः३० बजे फर्कने गरी बस सेवा सञ्चालन गरेको उनले जानकारी दिए।

भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडीबुटी, कोटेश्वर मुनीभैरब मन्दिर अगाडिबाट फर्केर पुनः बिरामी र कुरुवा बोक्दै भक्तपुर फर्कने गर्दछ ।

त्यसैगरी बिहान ७ः३० बजे छुट्ने बस ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै पुनः टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, शिक्षण अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चाहबिल, मित्रपार्क, गौशाला, एअरपोर्ट, सिनामङ्गल, कोटेश्वर, जडीबुटी, ठिमी, सल्लाघारी हँुदै बिहान ९ः३० बजे अस्पताल आइपुग्ने गरी यातायात सञ्चालन गरेको छ ।

अस्पतालले बिरामी र कुरुवाका लागि दुईवटा बस सञ्चालनमा ल्याएर उपचारमा आउनेलाई यातायातको सहज व्यवस्था गरेको र आवश्यकताअनुसार यो सेवालाई थप विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।

पहिलो रुट नं ‘ए’को बस प्रत्येक दुई घन्टामा अस्पतालबाट आहोरदोहोर गर्ने र रुट नं ‘बी’ को बस भने बिहान र अपराह्न दुईपटक बिरामी ल्याउने र लाने व्यवस्था गरेको हो । उपचारका लागि अस्पताल आउने बिरामीलाई सार्वजनिक यातायातमा सकस हुने भएपछि अस्पतालले बिरामीको सेवालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सुरु गरेको हो ।

 

 



Leave a comment

Your email address will not be published.


*