गाउँपालिका अध्यक्षले चुनावमा साढे ३ लाख खर्च गर्न पाउने, वडा सदस्यले डेढ लाख मात्र

गाउँपालिका अध्यक्षले चुनावमा साढे ३ लाख खर्च गर्न पाउने, वडा सदस्यले डेढ लाख मात्र

 काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३१ का लागि तय गरेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा तोकेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसार लगायतका अन्य कार्यमा खर्च गर्न पाउने विषयमा हद तोकेको हो । त्यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार र वडा सदस्यले २ लाख रूपैयाँ खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।आयोगका अनुसार गाउँपालिका प्रमुख र उपप्रमुखले चुनावमा ३ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउनेछन् भने वडाअध्यक्षले १ लाख ५० हजार मात्रै खर्च गर्न पाउनेछन् ।

महानगरपालिका प्रमुख र उपप्रमुखले चुनावमा ७ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए । महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा ३ लाख रूपैयाँ तोकिएको छ ।

उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने छन् भने उपमहानगरका वडा सदस्यले २ लाख ५० हजार रूपैयाँ चुनावमा खर्च गर्न सक्नेछन् ।

जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले २ लाख ५० हजार खर्च गर्न पाउने छन् भने सदस्यले १ लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले सीमा तोकेको छ ।

स्थानीय तहका उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचार प्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन र कार्यालय सञ्चालन लगायतमा खर्च गर्न पाउनेछन् ।

 

प्रतिक्रिया