विमलेन्द्र निधिले सरकार छाड्ने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा सरकार गठन भएको सात महिना भएको छ ।
नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न नेपाली कांग्रेसका विमलेन्द्र निधि र माओवादी केन्द्रका कृष्णबहादुर महरा तथा वर्षमान पुनलगायतको सक्रियतामा माओवादी–कांग्रेस गठबन्धन बनेको हो ।
तर, त्यो सरकार पनि सात महिना पूरा नहुँदै त्यसका उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले वरीयताको मामिला उठाउँदै सरकार छाड्ने धम्की दिएका छन् । आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले यस्तो चेतावनी दिएका हुन् ।
यो समाचारलाई आजको नयाँ पत्रिकाले विशेष प्राथमिकताका साथ प्रकाशित गरेको छ भने नागरिक दैनिकले पहिलो पृष्ठमा सानो समाचार प्रकाशित गरेको छ ।
‘वरीयतामा थापा अघि भएपछि निधिको आपत्ति’ शीर्षक दिएर नयाँ पत्रिका दैनिकले मुखपृष्ठमै महत्त्वका साथ समाचार प्रकाशित गरेको छ । समाचारअनुसार, मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललगत्तै नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका हुन् ।
सोही समाचारमा मन्त्रिपरिषद्को वेबसाइटमा भने निधि नै माथि रहेको पनि उल्लेख छ । यो समाचारलाई आज प्रकाशित नागरिक दैनिकले ‘सरकार छाड्ने निधिको धम्की’ शीर्षकमा सामान्य महत्त्व दिए पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ । अन्य पत्रिकाले भने यो समाचारलाई समेटेको देखिँदैन ।
प्रतिक्रिया